काठमाडौं, असार २० । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले भन्दै राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सचेत गराएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज बिज्ञप्ति जारी गरी सरकार अल्पमतमा परिसकेको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्न र दिर्घकालिन असर पर्ने काम नगर्न सचेत गराउनु भएको हो ।संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएकोले वर्तमान सरकार अल्पमतमा परेको बिज्ञप्तिमा स्मरण गराएएको छ ।
‘वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको एमालेले स्पष्ट पारेको छ । अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
एमालेले माओवादीलाई राष्ट्रिय सहमतिको सरकारमा आउन औपचारिक रूपमा आह्वान पनि गरेको छ । ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्