काठमाडौं, साउन १२ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगिएका छ । शनिवार काठमाडौंमा दुई दलबीच भएको बार्तामा मन्त्रालयको भागबण्डा टुंगिएको हो ।
सहमतिअनुसार दुवै दलले बराबर मन्त्रालय लिने छन । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री रहनेछन भने आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँट गर्ने सहमति भएको छ ।
मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको छ । ‘मोटामोटी सबै कुरामा छलफल भएर एकखालको सहमति भएको छ । कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ तयारी छ,’ भण्डारीले भन्नुभयो । अहिलेसम्म मन्त्रालयको बिषयमा सहमति जुटन नसक्दा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छैन । सहमतिसँगै कांग्रेस सरकारमा जाने भएको हो ।
दुई दलको छलफलमा नेपाली कांग्रेसले सरकारको नेतृत्व पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर सो बिषय प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले टुंग्याउने सहमति भएको छ । ‘आलोपालोको विषयमा केन्द्रीय नेतृत्वको निर्णयअनुसार अघि बढ्ने सहमति छ’, भण्डारीले भन्नुभयो, ‘बाँकी विषय विराटनगरमा छलफलपछि टुङ्गो लाग्छ ।’
कोशीमा नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसलाई दिने तयारी गर्नुभएको छ । त्यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमध्ये थप एउटा लिन प्रस्ताव गरिएको छ । कांग्रेसले भने खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयमा दाबी गरेको छ ।
दुई दलबीच संसदीय समिति नेतृत्वमा पनि भागबन्डा मिलेको छ । जसअनुसार सात वटा विषयगत समितिमध्ये एउटा समिति प्रतिपक्षी दललाई छाडेर बाँकी ३–३ वटा बाँडफाँड गरिनेछ । सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने प्रचलन अनुसार माओवादीलाई दिने र बाँकी समितिको नेतृत्व बाँडफाँड गर्ने सहमति जुटेको भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्