काठमाडौं, साउन १४ । सरकारले अमेरिका र चीनसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले एकैपटक १८ देशको राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय लिएको हो ।
मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । बैठकपछि एक मन्त्रीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ ।
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो । बैठकले चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाएको छ । यसैगरी श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले भारतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ भने अमेरिकामा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिश गरेको छ । बैठकले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय लिएको हो ।
भारतका लागि यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएको शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको हो । प्रचण्ड सरकारले जेठ २४ गते शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस हुनुभएको हो । बेलायतका लागि नेपाली राजदूत भइसक्नु भएका रेग्मीलाई प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो । तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुग्नुभएको हो ।
यसैगरी पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । प्रचण्ड सरकारले उहाँलाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उहाँ राजदूत भएर जाने देश पनि फेरिएको हो । यसैगरी चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री तथा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस हुनुभएको छ ।
डा. तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस हुनुभएको थियो । यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस हुनुभएको छ । भएका छन । प्रचण्ड सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उहाँको नाम सिफारिस गरेको थियो । नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला प्रचण्ड सरकारलाई ११ राजदूत फिर्ता बोलाउँदा उहाँ पनि पर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्