काठमाडौं, भदौ ७ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पार्नुभयो । सरकारले सरकार–निजी क्षेत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने अर्थमन्त्री पौडेलको भनाई छ । वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै अर्थमन्त्री पौडेलले सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको बताउनु भयो ।
विभिन्न नीतिगत विषयमा निजी क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको जानकारी पनि पौडेलले दिनुभयो । पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास र समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताउनु भयो ।
बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उहाँले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारको अनुसन्धानको दायरामा राख्न खोजिएको भन्दै आपत्ती जनाउनु भयो । यसका कारण पूर्वाधार, कलकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्न सक्ने उहाँको चेतावनी छ । ढकालले बैंकहरूमा लगानी गर्नेले अरु क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने धारणासमेत राख्नुभयो ।
महासंघका अध्यक्ष भगीरथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले मुलकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्