काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसले चुनाव अघि गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले चुनावअघि अव गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको हो ।
महामन्त्री थापाको प्रस्ताव पारित गर्दै बैठकले आगामी २०८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको छ । ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, बैठकको निर्णयमा भनिएको छ ।
आजको बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ– ‘हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’
कांग्रेसको यो निर्णयसँगै अव चुनावमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बुई चढेर आफ्नो पार्टीको आकार बढाउने र सत्ता बार्गेनिङ गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सपना चकनाचुर भएको छ ।
प्रतिक्रिया दिनुहोस्