जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १५:५९

परिणामबाटै जिल्लावासीको निराशा हटाउने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, सुनाए बैतडीको सिलेट काठमाडौं पुर्याउने योजना


बैतडी, असोज ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कामबाट परिणाम दिएर जिल्लावासीको निराशा हटाउने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री भण्डारीले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन गरिरहेको भन्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

उहाँले रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनु पर्ने पनि बताउनु भयो । जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको जानकारी मतदातालाई दिनुभयो ।

जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रशोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको पनि उहाँको भनाई छ । मन्त्री भण्डारीले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट संघीय राजधानी पुर्याउने योजनासहित प्रतिबद्धता जनाउनुका साथै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वयमको कमजोरी हुने बताउनु भयो ।

‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँ ठाउँमा सडक पुगेपनि व्यवस्थित नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमा समेत कृषि उपजहरू उत्पादन गरी विक्री गर्ने परिपाटी छैन,’ मन्त्री भण्डारीले भन्नुभयो, ‘जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिँचाइ, विद्युत्, खानेपानी लगायतका पूर्वाधारहरू निर्माण गर्न सरकार लागिपरेको छ ।’

मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रशोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने जानकारी पनि दिनुभयो । यसका साथै जडीबुटी सङ्कलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यम मार्फत रोजगारी सृजना गर्ने उहाँको भनाई छ । उहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी सृजना गर्नमा आफूले ध्यान केन्द्रित गरेकोजानकारी पनि गराउनु भएको छ ।

मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लयमा फर्काउने पहलकदमी लिइसकेको भन्दै आर्थिक सङ्कुचन हटने बताउनु भयो । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर आफूले काम गर्ने जानकारी दिनुभयो ।