काठमाडौं, ११ जेठ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
राजावादीको नाममा भएको सो आन्दोलनमा एक जना पत्रकारलाई ज्युँदै घरभित्र जलाइएको थियो भने एक जनाको प्रहरीको गोली लागि ज्यान गएको थियो । आन्दोलनका नाममा व्यक्तिका घर तोडफोड गर्नुका साथै व्यावसायिक भवनमा लुटपाट मच्चाइएको थियो । त्यस्तै सरकारी भवन, औषधी कारखाना तथा राजनीतिक दलका कार्यालयमा समेत तोडफोड गरिएको थियो ।
सो आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईँसहित आठ जना विरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।
प्रसाईँसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्