टेक्सस, कात्तिक २ । नेपाली क्रिकेट टीमले अमेरिकामा सुखद सुरुआत गरेको छ । डलासमा भएको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको छ ।
यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । आज भएको खेलमा जितका लागि १ सय ६५ रन पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
खराव सुरुवात गरेको अमेरिकाका लागि सयन जहाँगिरले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलको सामना गरेर ६ चौका र दुई छक्का प्रहार गरेका थिए । तर त्यो निर्णायक भने सावित भएन । उनलाई छाडेर आन्द्रेस गसले ३० र मिलिन्द कुमारले २२ रन बनाए ।
नेपालका सबै बलरले कसिकसाउ बलिङ गर्दा अमेरिकी ब्याटरले खुलेर आफ्नो खेल जमाउन सकेनन । अमेरिकालाई जितसम्म पुग्न १२ बलमा ४९ रन चाहिएको थियो । पछि अन्तिम ओभरमा जितका लागि ३१ रनको आवश्यकता थियो । यो लगभग असम्भव भन्दा कम थिएन । नेपाली बलरमध्ये दीपेन्द्रले २७ रनमा तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ४९ रनमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे । आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रोहित दुर्भाग्यपूर्ण रूपले रनटआउट भए । नेपालले सुरुआत भने राम्रो गरेको थियो । नेपालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो ।
दुवै ओपनर अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । इनिङ्सको अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले १७ बलमा २८ रन बनाए । छिटोछिटो रन बनाउन खोज्दा नेपालले अन्त्यतिर एकपछि अर्को विकेट गुमायो । नेपालले अन्तिम पाँच विकेट पाँच रनमै गुमाएको थियो ।
प्रतिक्रिया दिनुहोस्