जनता टाइम्स

८ मंसिर २०८१, शनिबार १५:३९

बाजुरामा एमाले क्रेज : माओवादी उम्मेद्वार नै एमालेको प्रचारमा, नेकपा एसका अध्यक्षसहितका सवै नेता–कार्यकर्ता एमालेमै फिर्ता


बाजुरा, मंसीर ८ । उपनिर्वाचनको मिति नजिकिँदै जाँदा सुदुरपश्चिमको दुर्गम जिल्ला बाजुरामा नेकपा एमालेप्रतिको क्रेज ह्वात्तै बढेको छ ।

यही क्रममा उपनिर्वाचनमा गाउँपालिकामा माओवादीबाट उपाध्यक्षको उम्मेदवार एमालेको प्रचारमा लाग्नुभएको छ भने माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्षसहित सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादीको उम्मेदवार बन्नुभएकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटनु भएको हो । बिकले मंसिर २ गते माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गर्नुभएको थियो । मंसीर ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिनुभएको बिकले भोलीपल्टैबाटै एमाले उम्मेद्वारको प्रचार प्रसारमा लाग्नुभएको छ ।

माओवादीले पार्टीगत निर्णय गरेर नै एमालेलाई सघाउन उम्मेद्वारी फिर्ता लिएको बताएको छ । ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भन्नुभयो, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं ।’ माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिनुभएको थियो । उहाँले एमाले जिताउन पनि आह्वान गर्नुभएको छ ।

यसपालिकामा नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, नेपाली काँग्रेसले पुलतीसरा शाही र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको थियो । माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन् । कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दको भनाई छ ।

२०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याउनु भएको थियो । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याउनुभएको थियो ।

उपनिर्वाचनमा सो पालिकामा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन । गत निर्वाचनमा निर्वाचित उपाध्यक्ष मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उहाँ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

नेकपा एसका पालिका कमिटी अध्यक्षसहित सवै नेता एमाले प्रवेश

चुनावको मुखैमा नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटी अध्यक्ष पशुपति रोकायासहितका नेता कार्यकर्ता नेकपा एमलेमा प्रवेश गर्नुभएको छ ।
वडा नम्वर ३ मा जुकोटमा पुगेको एमाले नेताहरुसँग स्वामिकार्तिक गाउँ कमिटीका अध्यक्ष रोकाया एमालेमा प्रवेश गरेको नेकपा एमाले बाजुरा सचिव कासी विकले जानकारी दिनुभयो ।

नेकपा एकिकृत समाजवादी पार्टीबाट एमालेमा प्रवेश भएका रोकायालाई केन्द्रीय सदस्य बाजुरा इन्चार्ज लाल बहादुर थापासहितका एमालेका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । एमालेका पुनारा नेता रोकाया पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादी पार्टीतिर लाग्नुभएको थियो ।