जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार ११:१२

सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता होइन : महासचिव पोखरेल


चितवन, १० जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता नभएको बताउनु भएको छ ।

राष्ट्रिय चिकित्सक संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार राती भरतपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै एउटा क्षेत्रमा सफल हुनुको अर्थ हरेक क्षेत्रमा सफल हुनु भन्ने नभएको बताउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा चर्चामा आएका मान्छेले ‘म राजनीतिमा सफल हुन्छ’ भन्ने ठानेर हामफाल्ने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो ´यो राजनीति हो, सामाजिक सञ्जालमा सफल व्यक्ति यसमा सफल हुँदैनन् ।´ इतिहास बोकेका राजनीतिक दलहरुलाई उपेक्षा गरेर देश अघि बढ्न नसक्ने उहाँको भनाई छ ।

अमेरिकामा सयौं वर्षदेखि रिपब्लिकन र डेमोक्र्याट पार्टी आपसमा प्रतिस्पर्धा गरिरहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, ´अमेरिकामा दुई वटा पार्टीले आलो पार्टी विश्व साम्राज्य चलाएकै छन् । अमेरिकी जनताले ती पार्टीको विकल्प नखोजीकन अमेरिका चलेकै छ । नेपालमा ‘पार्टी पुराना भए हामीलाई नयाँ चाहियो’ भनेर नारा लगाउनु परेको छ ।´

बेलायतमा पुराना पार्टीको सान्दर्भिकता सकियो अब नयाँ चाहियो भन्ने सुन्नु नपरेको बताउँदै उहाँले अगाडि थप्नुभयो, ´नेपालीहरु यति दग्गिज भईसक्यौं, दुनियामा जे कुराको चर्चा भयो त्यो चाहिहाल्ने । राजनीतिक विज्ञानले गर्दा यो कुरा गलत हो ।´ राजनीति आफैमा एउटा विज्ञान भएको बताउँदै उहाँले यसका आफ्नै मूल्य मान्यता हुने बताउनुभयो ।

नेपालको राजनीतिको कुरा गर्दा नेकपा (एमाले) विचार, सिद्धान्त, संगठन, जीवनशैली र आचरणका हिसाबले अरुभन्दा अब्बल पार्टी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ´एमालेभित्र पनि बेलाबखत विकृति विसंगति देखिन्छन् । त्यो अपवाद हो, त्यो मूल चरित्र होइन ।” महासचिव पोखरेलले भन्नुभयो, ´हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो, जसले व्यक्तिमाथि प्रश्न उठ्यो भने त्यसलाई व्यक्तिगत प्रश्न ठान्दछ । कसैमाथि अभियोग लागेर हिरासतमा गयो भने हामी निलम्बन गर्दछौं ।´

नेपालका अरु कुनै पार्टीले त्यसप्रकारको आँट नगर्ने उहाँको भनाई छ । महासचिव पोखरेलले भन्नुभयो “त्यसकारण हामी सुशासन र पारदर्शीका कुरामा नेपालका थुप्रै पार्टीको तुलनामा व्यवस्थित छौं ।´

नेकपा एमालेको लेखा प्रणाली व्यवस्थित भएकै कारण अरुले धनी पार्टी भन्ने गरेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो ´अरु पार्टी अरबौंको कारोबार गर्छन्, तर उनीहरुका आर्थिक क्रियाकलाप अपारदर्शी छन् । सत्य यही हो ।´

‘एमालेलाई अब नरोक्ने हो भने त हाम्रो भविष्य वर्वात हुन्छ’ भनेर एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो “यो पार्टी संकटपूर्ण अवस्थामा त यसरी माथि उठ्दो रहेछ, अब त यससँग मुकाविला गर्न गाह्रो हुन्छ भनेर घेराबन्दी गर्ने प्रयत्न भएको छ ।´

कार्यक्रममा एमाले स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले मिसन ८४ मा स्थानीय एमालेमय बनाउन र प्रदेश र संघमा कम्फटेवल बहुमत पुग्ने अभियानमा लाग्नु पर्ने बताउनुभयो । उहाँले चिकित्सकहरुलाई २०८२ मा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा जित हासिल गर्ने गरी मिसन ८२ लिएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “विगतको समीक्षा गर्दै भावि योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुहोस् ।

सो अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष झलक शर्मा गौतमले नीति निर्माण तहमा स्वास्थ्यकर्मी पु¥याउने राजनीति कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने हो भने स्वास्थ्यकर्मी नीति निर्माण तहमा पुग्नु पर्ने बताउनुभयो ।

संघका संस्थापक अध्यक्ष डा. सन्तोष पौडेलले देशलाई दिशानिर्देशन गर्छ भनेर संगठन निर्माण गरिएको बताउनुभयो । उहाँले यस संगठनमा लाग्न सबै चिकित्सकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा डा. कृष्ण अधिकारी, डा. आनन्द सिंह, डा. विकास गौचन, डा. अरुण उप्रेती, डा. विकास गुप्ता, एमाले नेताहरु कपिलदेव पोखरेल, प्रभा बराल, विमला दवाडी, श्याम बिष्ट लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा विभिन्न प्रस्तुती दिंदै चिकित्सकहरुले पार्टीले चिकित्सकलाई प्रयोग मात्रै गर्ने गरेको तर चिकित्सकका समस्यामा गम्भीर नबनेको गुनासो गर्नुभएको थियो ।

संघका अध्यक्ष प्रा.डा.जागेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष डा. प्रतिक न्यौपाने र संघका महासचिव डा.छवि पन्थीले सञ्चालन गर्नुभएको थियो । सम्मेलनमा देशभरका तीन सय बढी चिकित्सकहरु सहभागी हुनुहुन्छ । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन आज समापन हुनेछ ।