जनता टाइम्स

३० मंसिर २०८१, आईतवार १५:५७

माधवको योजनाबिरुद्ध उभिए स्थायी कमिटीका नेता


काठमाडौं, मंसिर ३० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको योजना बिफल भएको छ । पार्टीलाई नेकपा माओवादीमा बिलय गराउने अध्यक्ष नेपालको योजनालाई महासचिव घनश्याम भुसालले बिफल पारिदिनु भएको हो ।

महासचिव भुसालले स्थायी कमिटीमा पेश गर्नुभएको माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदनलाई बैठकमा बोल्ने नेताहरूले बलियो साथ दिएका छन । नेताहरुले माधवको योजना अस्वीकार गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका हुन ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शीर्ष तहमा धेरै पटक छलफल भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टिममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गर्नुभएको थियो । सो समितिले धेरै पटक बार्ता गरे पनि कुनै प्रगति हुन सकेको छैन ।

महासचिव भुसालले स्थायी कमिटी बैठकमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको बताउनु भएको छ । ‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन । आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ ।

आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ,’ प्रतिवेदनमा भनिएको छ ।

भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने निश्कर्ष राख्नुभएको छ । ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ भुसालको प्रतिवेदनमा भनिएको छ, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

भुसालले एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको स्वीकारोक्ति गरिएको छ ।

‘निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन । जसले गर्दा कतिपयमा एमालेसँग सामीप्य खोज्ने, अरू कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन । पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ ।