काठमाडौं, फागुन ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको दक्षिणपन्थी अवसरवाद अन्त्य नगर्दासम्म एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउन नसकिने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गुरुङले आफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई पार्टीमा ल्याउन नचाहने प्रवृत्तिले पार्टी बलियो नबन्ने बताउनुभयो । पार्टीमा ल्याएकालाई पनि यथोचित जिम्मेवारी दिनुपर्ने र पूर्वाग्रह रहित व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सङ्कीर्ण सोच र विचारले पार्टी अघि नबढ्ने गुरुङले स्पष्ट पार्नुभयो । ‘आफूलाईमात्रै शुद्ध ठान्ने र अरूलाई ल्याउन नचाहने, ल्याउँदाखेरि पनि जिम्मेवारी यथोचित नदिने, अहिले पनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ’, उहाँले भन्नुभयो ।
चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्यापछ्याप्ती भेटिने गुरुङले बताउनुभयो । आफैँ भित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमाले बलियो पार्टी बन्न नसक्ने उहाँको धारणा छ ।
‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्यापछ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरू धेरै ठोकिन्छन्, संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
जनताले गरेको विश्वासलाई सुरक्षित राख्न सक्नु पर्ने गुरुङले बताउनुभयो । आफैँभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके पार्टीले जित्न नसक्ने उहाँको भनाइ छ ।
गुरुङले पार्टीभित्रको अन्तर्घातकै कारणले गएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न नसकेको बाउनुभयो । पार्टीभित्रकै अन्तर्घातको कारणले एमालेले ८२ ठाउँमा चुनाव हारेको उहाँको भनाइ छ ।
‘गएको स्थानीय तहको चुनावमा ७ सय ५३ पालिकामध्ये ८२ वटामा हामीभित्रकै आन्तरिक विवादको कारणले हार्यौँ हाम्रो उम्मेदवारलाई हाम्रै साथीहरूले असहयोग गरेको कारणले, आफूले टिकट नपाउने बित्तिकै कोही कांग्रेसतिर लागिदिए, कोही कांग्रेसलाई पैसा हाल्न थाले, अहिले हाम्रो २ सय ६ सिट छ, ८२ थपिएको भए २ सय ८८ हुन्थ्यो, कांग्रेस र माओवादीको सिट घट्थ्यो, हामी पहिलो पार्टी बन्थ्यौँ’, उहाँले भन्नुभयो ।
स्थानीय तहको निर्वाचनकै कारणले संघको निर्वाचनमा पनि एमालेले लक्ष्यअनुसार सफलता प्राप्त गर्न नसकेको उहाँले सुनाउनुभयो । पार्टी भित्र सबैले सहयोग गरेको भए एमालेले एक सय सिटमा चुनाव जित्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्