काठमाडौं, फागुन २९ । नेपाल बिद्यार्थी संघ (नेबिसंघ) को आन्तरिक बिवादका कारण स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) निर्वाचन बिथोल्ने षडयन्त्र भइरहेको तथ्य खुलेको छ ।त्रिबि केन्द्रीय क्याम्पससहित देशभर नेबिसंघले आन्तरिक बिवाद मिलाउन नसकेपछि तालावन्दी र आगजनी गर्न थालेपछि यो तथ्य बाहिर आएको हो ।
नेबिसंघका नेताहरुका अनुसार संस्थापन र इतर समुहबीच त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुर, पदमकन्या क्याम्पस (पिके), शंकरदेव, पब्लिक युथ, रारा क्याम्पस जनकपुर, महेन्द्र मोरङ र रुपन्देहीको एक क्याम्पसमा बिवाद रहेको छ । सोही बिवाद समाधान गर्न नसकेपछि हारिन्छ भनेर नेबिसंघको दुवै पक्षले सल्लाह गरेर आगजनीदेखि तालावन्दीसम्मको काम गरेको पाइएको हो ।
‘हाम्रो बिवादले चुनाव जितिन्न भन्ने निश्कर्षका आधारमा नेताहरुले नै तालावन्दी गराएको तपाईको कुरा सत्य हो । बिवाद नमिल्दासम्म ताला खुल्ने अवस्था देखिन्न,’ नेबिसंघका एक नेताले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार बिवाद नमिलेका अन्य क्याम्पसमा पनि तालावन्दी गर्ने र चुनाव हुन नदिने बातावरण बनाउने काम भइरहेको छ । नेबिसंघको सो कामले अनेरास्व्बियुसहित अन्य बिद्यार्थी संगठन भने झस्किएका छन । कुनै पनि संगठनले आधिकारिक रुपमा आरोप नलगाएको भएपनि चुनाव भाँडन नेबिसंघ लागेको भन्दै पार्टी नेताहरुलाई गुनासो गर्ने गरेका छन ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेपछि नेबिसंघले बिवाद सुरु गरेको थियो ।
अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।
त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्