जनता टाइम्स

३० चैत्र २०८१, शनिबार १४:४९

राजतन्त्रमा जनताको हैसियत रैती थियो, गणतन्त्रमा जनता नै मालिक : शेरधन राई


दमक, चैत ३०। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजाका पालमा देश अध्याँरोमा रहेकोमा गणतन्त्रले देशलाई उज्यालो दिएको बताउनु भएको छ ।

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले नेता राईले राजतन्त्रकालमा नागरिकको हैसियत रैती रहेकोमा अहिले गणतन्त्रमा जनता नै मालिक भएको तथ्य राख्नुभयो ।

शनिबार दमकमा आयोजित एमालेको विशाल जागरणसभालाई सम्बोधन गर्दै राईले बहुदलीय व्यवस्था स्थापनापछि पनि माओवादीले जनयुद्धको नाममा १० वर्षसम्म विकास निर्माणका काममा नकारात्मक प्रभाव पारेको बताउनु भयो । गणतन्त्रको १८ वर्षमा खानेपानी, सडक, शौचालय, शिक्षा जस्ता सामाजिक र भौतिक पूर्वाधारका धेरैकाम भएको तथ्य पनि उहाँले राख्नुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनको शीरमाथि दमक रहेको र देशको नेतृत्व दमकले गरेको राईले उबताउनु भयो । दमक एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यसले समग्र देशलाई नै नेतृत्व गरिरहेको उहाँको भनाइ थियो ।

राईले एमाले अहिले जरा अभियानमा रहेको र सबै कार्यकर्तालाई पार्टीले काम दिएको जानकारी दिनुभयो । यस्तै उहाँले विकास र समृद्धिको एजेण्डा अघि बढाउन र बलियो राष्ट्रशक्तिको आवश्यकता पूरा गर्न मिसन ०८४ मा एमालेलाई बहुमत दिनुपर्ने धारणा राख्नुभयो ।