जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १२:३४

कानुन अनुसार राजश्व बुझाएर मात्र नगर क्षेत्रका ढुङ्गा, बालुवा र माटो प्रयोग गर्नु : मन्थली नगरपालिका 


रामेछाप, ३१ बैशाख । मन्थली नगरपालिकाले नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका खनिज अनुमति बिना ननिकाल्न आग्रह गरेको छ ।

नदीजन्य पदार्थ उत्खनन सङ्कलन र बिक्री वितरणका लागि मन्थली नगरपालिकाले नगर क्षेत्रभित्रका खोला नदीहरूमा प्रारम्भिक वातावरणीय परीक्षण गराई प्रतिवेदन तयार गरी प्रतिवेदनमा उल्लेखित क्षेत्र र परिमाणको आधारमा चालु आर्थिक वर्षको ठेक्का बन्दोबस्त गरी ठेक्का सकार गर्ने फर्म मार्फत उत्खनन सङ्कलन र बिक्री वितरणको कार्य भइरहेको स्पष्ट पारेको छ ।  नगर क्षेत्रभित्र र बाहिर सञ्चालित आयोजनाहरू तथा नदीजन्य पदार्थ आवश्यक हुने व्यक्ति, आयोजना निर्माण व्यवसायी, उपभोक्ता समिति लगायतका सम्बद्ध पक्षले नगर क्षेत्रभित्रको नदीजन्य पदार्थको प्रयोग गर्नु पर्दा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट जारी ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन ( पहिलो संशोधन) मापदण्ड २०७९ र वाग्मती प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७५ मा उल्लेखित  कानुनी प्रक्रिया अवलम्वन गरी उपयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

आफ्नो वातावरणीय परीक्षण प्रतिवेदन भएको आयोजनाको हकमा प्रतिवेदनमा तोकिएको क्षेत्रमा मात्र उत्खनन र सङ्कलन गरी नगरपालिकामा राजस्व बुझाई अनुमति लिएर मात्र ती सामाग्री प्रयोग गर्न पनि नगरपालिको सूचना मार्फत अनुरोध गरेको छ । नगरपालिकाको वातावरणीय परीक्षण प्रतिवेदन भएको क्षेत्रको प्रयोग गर्नु पर्नेमा नदीजन्य पदार्थको ठेक्का सकार गर्ने ठेकेदारलाई राजस्व बुझाएर प्रयोग गर्न र सम्बन्धित आयोजना निर्माण गर्दा निस्केको नदीजन्य पदार्थको नगरपालिकालाई राजस्व बुझाई नगरपालिकाबाट अनुमति लिएर मात्र प्रयोग गर्न भनिएको छ ।

अप्रशोधित नदीजन्य पदार्थ ढुवानी गरी लैजाने सवारी साधनले ढुवानी अवधिभर नदी प्रवेश आदेश र राजस्व तिरेको निस्सा तथा प्रशोधित नदीजन्य पदार्थ ढुवानी गराउने सवारी साधनले विल विजक साथमा लिएर मात्र नदीजन्य पदार्थ ओसार पसार गर्न पनि आग्रह गरिएको छ ।

सडक निर्माण र विस्तारको क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री सम्बन्धित आयोजनाले उपयोग गर्ने अवस्थामा त्यस्तो सामाग्रीको परिमाणको आधारमा लाग्ने बिक्री मूल्य बराबरको रकम पालिकामा बुझाएर मात्र उपयोग गर्न भनिएको छ ।

निजी जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो उत्खनन गरी बिक्री गर्दा समेत तोकिएको राजस्व तिरी स्थानीय तहबाट अनुमति लिएर मात्र उत्खनन सङ्कलन र बिक्री गर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगर क्षेत्रका ढुङ्गा, बालुवा, माटो लगायतका खनिज कर नतिरी जथाभाबी निर्माण व्यवसायीले प्रयोग गर्न लागेपछि नगरपालिकाले सूचना प्रकाशित गरी विधि पुर्‍याएर मात्र त्यस्ता सामाग्री प्रयोग गर्न आग्रह गरेको हो ।