जनता टाइम्स

२२ असार २०८२, आईतवार २२:५८

दलका नेताहरू बसेर लोकतन्त्र, बजेट र संसद् चलाउन सकिन्छ भन्ने मान्यता त्यागौँ : आनन्द श्रेष्ठ 


हेटौँडा, २२ असार । वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले मन्त्रीहरू सांसदका कुरा सुन्न तयार नरहेका बताउनुभएको छ ।

आइतबार प्रदेश सभा बैठकमा बोल्दै श्रेष्ठले मन्त्रीहरू संसद् बैठकमा अनुपस्थित हुने र सांसदका कुरा नसुन्ने गुनासो गर्नुभयो । तथापि जनताका कुरा सुनाउन सांसदहरूले सदनमा बोल्ने पर्ने उहाँको भनाइ छ । ‘दलका नेताहरू बसेपछि हाम्रो लोकतन्त्र, हाम्रो बजेट, हाम्रो संसद् चलिहाल्छ, गाँठो फुकी हाल्छ, सबै भइहाल्छ, हाम्रो लोकतन्त्रको स्थिति यस्तो छ’, उहाँले भन्नुभयो ।

संसार बुझ्नु मात्र ठुलो कुरा नभएको बताउँदै उहाँले त्यसलाई बदल्नु ठुलो कुरा भएको बताउनुभयो । बजेट निर्माणको परम्परागत प्रक्रिया नै गलत भएको उहाँको धारणा छ ।

आजको समाजको चरित्र दलाल पुँजीवादी भएको बताउँदै उहाँले त्यही चरित्र अनुसारको बजेट आएको उहाँले बताउनुभयो । बजेट निर्माणको प्रक्रियामा थुप्रै छुद्र भएका बताउँदै उहाँले आफ्नो अनुकूल बजेट ल्याउन त्यसलाई परिवर्तन गर्ने इच्छा शक्ति नेताहरूमा नरहेको उहाँको धारणा छ ।

मन्त्रालयका मन्त्रीहरूले जुन हिसाबले बजेट विनियोजन गरे त्यसले उनीहरूको हैसियत पनि देखिएको उहाँले बताउनुभयो । बजेट बनाउने कुरामा कि नेतृत्वबाट कि कर्मचारीबाट समस्या भएको श्रेष्ठको भनाइ छ । त्यसको जरो पत्ता लगाएर परिवर्तनको लागि काम गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।

श्रेष्ठले जो मन्त्री भयो त्यसैले बजेट लैजाने कुरा मन्त्रीहरू साझा बन्न नसकेका बताउनुभयो । अर्थ मन्त्रीलाई मात्र आरोप लगाएर अरू उम्किन नसक्ने उहाँले बताउनुभयो । न्यूनतम संसदीय मान्यतालाई ख्याल राखेर संसदमा छलफल हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।