जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार २०:१६

खाँडादेवीमा शनिबार दर्शन गर्न आउनेको सङ्ख्या बढ्यो 


रामेछाप, ३ जेठ। रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ खाँडादेवीमा शनिबार दर्श गर्न आउने भक्तजनहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

खाँडादेवी मन्दिरको महिमाको प्रचार हुन थालेपछि टाढादेखिका दर्शनार्थीहरु मन्दिरमा आउन लागेका खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । मन्दिरमा पूर्वदेखि पश्चिम नेपालदेखि भारतसम्मका दर्शनार्थीहरु दर्शनको लागि आउन लागेका तामाङले बताउनुभयो ।

मन्दिरमा दर्शन गर्न दैनिक भक्तजनहरू आउने भए पनि शनिबार भने दर्शन गर्न आउने भक्तजनहरूको निक्कै भिड लाग्ने उहाँको भनाइ छ । ‘ शनिबार बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म दर्शन गर्ने मानिसहरूको लाइन हुन्छ, देश विदेशबाट मानिसहरू आउँछन्’, उहाँले भन्नुभयो ।

मन्दिर दर्शन गर्न आउने र बलि पूजा गर्न आउनेका लागि खाँडादेवी विकास कोषले सहजीकरण र व्यवस्थापनका काम गर्दै आएको छ । मन्दिरमा भाकल गरी चिताएको काम पुरा भए पछि मानिसहरू पञ्च बलि सहितको बली र पूजा लिएर मन्दिरमा आउने गर्दछन् ।

यसरी बलि पूजा लिएर आउने मानिसहरू पहाडदेखि तराइका जिल्लासम्मका रहेका खाँडादेवी विकास कोषाध्यक्ष प्रकाश बुढाथोकी बताउनुहुन्छ । यसरी बलि लिएर आउनेहरूलाई पञ्चवलीको एक हजार, बोका, कुखुरा, हाँस, परेवाको एक सय रुपैँया शुल्क लिने गरिएको बुढाथोकीले जानकारी दिनुभयो । यसरी लिएको रकम कोषमा आम्दानी बाँधी, पुजारी व्यवस्थापन, नियमित पूजा, सरसफाइ, मन्दिर क्षेत्रको मर्मत सुधार तथा विभिन्न सामाजिक काममा लगाउने गरिएको छ । मन्दिरमा दर्शनार्थीहरुले चढाएको भेटी हरेक महिनाको मसान्तको दिन प्रहरी समेतको उपस्थितिमा गनेर कोषमा हिसाब बाँध्ने गरिएको छ ।

मन्दिरको प्रचार प्रसार भएपछि दर्शन गर्ने र पूजा लिएर आउने विभिन्न ठाउँका मानिसहरू बढेका बुढाथोकीको पनि अनुभव छ ।

खाँडादेवीलाई पौराणिक मन्दिर मानिन्छ । शिवपुराणको हिमवत् खण्डमा रोशमती (रोशी) र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले दानवको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग  गाडेको उल्लेख छ ।

देवीले बैशाख शुक्ल षष्ठी तिथिको दिन वृत्रासुर दानवलाई वध गरी खाँडो पखालेर र खाँडोदेवीमा गाडेको देवी भागवत महापुराणमा उल्लेख रहेको बाबा मुक्तिनाथ तिवारी बताउनुहुन्छ ।

देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडादेवी मन्दिरमा गाडिएकै अवस्थामा रहेको छ । खाँडोको टुप्पो मात्रै बाहिर देखिन्छ । सो खड्ग र देवीको दर्शन गर्न देश विदेशबाट मानिसहरू खाँडादेवी आउने गर्दछन् ।

खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट र त्यसभन्दा पनि अघि चढाएको चाँदीको जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । जसले यसको ऐतिहासिकतालाई पुष्टि गर्छ ।

नेपाल एकीरणको बेला खाँडादेवीको आराधना गरेपछि जित प्राप्त गरेका तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं फकिँदा खाँडोदेवीको शिला लैजान खोजेका भए पनि नसकेपछि पृथ्वीनारायण शाहले गणेशलाई हाँस, कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवीदेवीलाई राँगा, खाँडादेवीलाई बोका बलि दिनू भनी आदेश दिई पूजा चलाएको भनाइ छ । त्यसकै निरन्तरता स्वरूप अहिले पनि खाँडादेवी परिसमा रहेका ती देवीहरूलाई तिनै बलि दिने गरिएको छ ।

बडादशैँको नवमी र चैते दशैँको राम नवमीमा मन्दिरमा सरकारी पूजा हुने गर्दछ । अहिले सो पूजा खाँडादेवी विकास कोषले गर्दै आएको छ । मन्दिर व्यवस्थापनको सबै काम विकास कोषले गर्दै आएको छ ।