काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आफै टेनिस खेल्न कोर्टमा उत्रिएपछि दक्षिण एसियाली यूथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता खेलाडी निकै उत्साहित बने । आइतबार बिहान आफ्नो सरकारी निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले खेलाडीको मनोवल उकास्न आफै कोर्टमा उत्रिएर टेवल टेनिस खेल्नुभएको हो ।
सो क्रममा प्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ मेहनत गरे विश्व प्रतिस्पर्धामा पनि विजेता बन्न सकिने बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा खेलाडीहरू भविष्यका आशा भएका बताउनुभयो ।
अखिल नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण प्राप्त गरेको छ ।
प्रधानमन्त्री ओलीले विजेता र सहभागीसँग केही बेर खेलेर उत्साह दिनुभएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो । संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठले प्रधानमन्त्री स्तरबाट टेबल टेनिसलाई पहिलो पटक यस्तो स्नेह प्राप्त भएको बताउनुभयो । उहाँले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिन सक्ने अपेक्षा गर्नुभयो ।
संघका सचिव एवं दक्षिण एसियाली यूथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुलालले अन्तर्राष्ट्रियता टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्