काठमाडौं, २४ असार। रसुवामा चीनतर्फबाट गए राति आएको बाढीका कारण १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका ३ जना सुरक्षाकर्मी, ६ जना चिनियाँ नागरिक र अन्य नेपाली मजदुर तथा चालकहरू रहेका छन् ।
बेपत्ता हुने सुरक्षाकर्मीमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता भएका चिनियाँ नागरिकहरूमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन् ।
त्यस्तै, बाढीमा परेर बेपत्ता भएका अन्य नेपाली मजदुरहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ रहेका छन् ।
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ । स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरमार्फत पहिरो तथा बाढी प्रभावित क्षेत्रको अवलोकन र सम्भावित स्थानमा खोजी कार्य तीव्र पारिएको छ ।
बाढीका कारण सडक, पुल र विद्युत् संरचनामा ठुलो क्षति पुगेको छ भने सामान्य जनजीवनसमेत प्रभावित भएको छ । सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
घटनास्थलमा उद्धारमा खटिएको टोलीले थप बेपत्ता नागरिकको खोजी जारी राखेको छ । अवस्था जटिल रहेकाले क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्