जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १६:५०

कानूनबमोजिम नै रोकेको हुँ भन्दै राजु पाण्डेले बुझाए स्पष्टिकरण, कानूनी परामर्शपछि निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको घोषणा


काठमाडौं, जेठ १२।  काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसमक्ष स्पष्टीकरण बुझाउनु भएको छ ।

सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले स्पष्टीकरण बुझाउनु भएको हो । स्पष्टिकरणमा पाण्डेले कानून बमोजिम नै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गर्नबाट रोकेको जवाफ दिनुभएको छ ।

‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ । स्पष्टीकरणमा कानुनबमोजिम सो कार्य गरेको उल्लेख गर्नुभएको छ । म विस्तृत हेरेर कानुन व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्छु,’ गुरागाईंले भन्नुभयो ।

गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक लगाएको थियो । सोही दिनको घटनालाई लिए गुरागाईंले जेठ जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । जवाफमा पाण्डेले कानून बमोजिम रोकेको भन्दै स्पष्टिकरण बुझाउनु भएको हो ।