जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १४:२७

महानगरमा किन एक्लिए बालेन ? यस्तो छ खास कारण


काठमाडौं, जेठ २१ । सामाजिक सञ्जालको भरपुर उपयोग गरेर एकल हिरो बन्नुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) यतिबेला सेनाबिहीन सेनापतिको अवस्थामा पुग्नुभएको छ ।

आफू मात्रै जनताको मतले जितेको भ्रम छरेर उपमेयर सुनिता डंगोलसहित आफ्नै कार्यपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अपमान गर्न थालेपछि बालेन एक्लिनु परेको हो । काठमाडौं महानगरपालिका एक कर्मचारीका अनुसार बालेन र सचिवालयका आसेपासेको अपमान र दादागिरीले सीमा नाघेपछि कर्मचारीदेखि जनप्रतिनिधिसम्म एकजुट बनेर बालेन आतंकको प्रतिवाद गर्नुपरेको र सोही कारण उहाँ सेनाबिहीन सेनापति बन्नुभएको हो ।

मेयर साहलाई निसर्त रुपमा साथ दिनुभएकी उपमेयर सुनिता डंगोलसमेत उहाँको आतंक नरोकिएपछि प्रतिवादमा उत्रनु परेको छ । यता प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गर्नै नहुने ब्यवहार मेयरको सचिवालयबाट भएपछि कर्मचारी पनि बिच्किएका हुन । साहले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई लगाएर गुरागाईको अपमान गरेपछि कानूनले दिएको अधिकार प्रयोग गरी गुरागाईंले पाण्डेलाई नै निलम्बन गरिदिएसँगै काठमाडौं महानगरपालिकाभित्र मेयर बालेन पूर्णरूपमा एक्लिनु भएको छ । अहिलेसम्म मेयरलाई साथ दिइरहेको नगर प्रहरीसमेत उहाँको हातबाट फुत्किएको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको घटनालाई लिएर एसएसपी पाण्डेलाई कारवाही गर्नुभएको हो । उक्त घटनाका विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ । बढीमा ६ महिनाका लागि पाण्डेलाई निलम्बनमा राख्दै गुरागाईंले नगरप्रहरी प्रमुखको जिम्मेवारी तात्कालीन नेतृत्व एसपी विष्णु जोशीलाई दिनुभएको छ । महानगरको कानूनअनुसार प्रहरी प्रमुख प्रशासकीय अधिकृतकै मातहतमा रहने ब्यवस्था छ । तर पाण्डे कानून बाहिर गएर बालेनको सेना प्रमुख बनेपछि अहिले निलम्बनमा पर्नुभएको हो ।

सुरुदेखि नै आफै जसरी निर्वाचित जनप्रतिनिध र स्थायी संयन्त्र कर्मचारी प्रशासनलाई विश्वासमा लिन नसक्नु भएका मेयर साहले अहिलेसम्म नगरप्रहरीको आडमा नै महानगर चलाउनु भएको थियो । आफैंले नगर प्रहरी प्रमुख बनाएको हुँदा राजु पाण्डेको बालेनलाई पूर्ण समर्थन र साथ थियो ।

कानूनतः नगर प्रहरीलाई प्रशासकीय अधिकृतले कमाण्ड गर्ने भएपनि पाण्डे बालेनको आदेशमा मात्रै चल्ने गर्नुभएको थियो । यत्तिसम्म कि बालेनलाई कसैले सामाजिक सञ्जालमा लेखेको भेटिएमा उस्को पसल र घर खोजेर नक्सा खोज्दै डोजर लगाउनसम्म पाण्डे जाने गर्नुभएको थियो ।

– पचेन उपमेयर सुनिताको साथ, तोडियो सहकार्य, बढ्यो बिवाद
– प्रमुख प्रशासकीय अधिकृतसँग बोलचाल बन्द ।
– महानगरका अधिकांश कर्मचारी असन्तुष्ट
– कार्यपालिका बैठकमा चरम अल्पमत
– कानूनभन्दा बालेनको सुरक्षा प्रमुख बन्दै आएका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
– मानगरपालिकाबाहेक सवैतिरको हितमा मस्तराम

पाण्डेले बालेनकै निर्देशन बमोजिम गत चैत २१ मा प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न रोक लगाउनु भएको थियो । पाण्डेले गुरागाईलाइ कार्यालय प्रवेश गर्न नदिन आफूसहित नगर प्रहरी परिचालित गर्नुभएको थियो । तर उपप्रमुख डंगोलको नेतृत्वमा खडा भएका जनप्रतिनिधि र कर्मचारीले प्रतिवाद गर्दै गुरागाईंलाई कार्यालय पुनःस्थापित गराएपछि उहाँ पनि कानूनअनसार एक्सनमा उत्रनु भएको हो ।

सो घटनापछि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच बोलचालसमेत हराएको छ । सामाजिक सञ्जालमा स्टण्ट गर्दै मनपरी लेख्न थालेपछि उपमेयर सुनिता डंगोल पनि बालेनसँग टाढिनु भएको छ । बालेनले लामो समयदेखि कार्यपालिका बैठक नबोलाएपछि डंगोल प्रतिवादमै उत्रिसक्नुभएको छ । यता काठमाडौं महानगरका वडाध्यक्षहरू पनि सबैजसो बालेनको बिपक्षमा छन् । उनीहरूले बालेनको कार्यशैली अलोकतान्त्रिक, अपारदर्शी, मनोमानीपूर्ण र अधिनायकवादी रहेको भन्दै आपत्ति जनाइरहेका छन ।

महानगरका जनप्रतिनिधि र कर्मचारीको विश्वास गुमाएपछि बालेनले कार्यपालिका बैठक नबोलाएको आरोप अन्य जनप्रतिनिधिको छ । महानगर कार्यपालिका बैठक महिनामा एकपटक बस्नुपर्ने कानूनी प्रावधान भएपनि ५ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं रहेसम्म कार्यपालिका बैठक नै नराख्ने बालेनको योजना रहेको अरु जनप्रतिनिधि र कर्मचारीको बुझाइ छ । महानगरको नीति तथा कार्यक्रम र बजेट ल्याउन कार्यपालिका बस्नैपर्ने बाध्यता रहेको भए पनि बालेन यसतिर सुरसार गरिरहनु भएको छैन।

कार्यपालिकाभित्र अल्पमतमा परेकाले पनि बालेन बैठक बोलाउन हिच्किचाउनु परेको हो । बिगतमा हाकाहाकी निर्णय सुनाएर हिडने गर्नुभएका बालेन अव कार्यपालिका बैठकबाट आफूले चाहेको निर्णय गराउन सक्ने अवस्थामा नै हुनुहुन्न। सोही कारण पनि नबोलाएको आँकलन छ । यसरी बालेन आफ्नै दुश्कर्मले सर्वशक्तिमान कमाण्डरबाट सेनाबिहीन बनेर एक्लो बन्नुपरेको महानगरकै कर्मचारीहको निश्कर्ष छ ।