जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार ०६:४९

हमासले अपहरण गरेका थाई नागरिकको शव भेटियो, विपिन जोशीको अवस्था अझै अज्ञात


काठमाडौं, २५ जेठ ।२० महिनाअघि हमास समूहले इजरायलमा आक्रमण गरी अपहरण गरिएका थाई नागरिकको शव भेटिएको छ। उनीसँगै अपहरणमा परेका नेपालका विपिन जोशीको अवस्था भने अज्ञात छ ।थाई नागरिक नातापोङ पिन्ताको शव दक्षिणी गाजाको राफह क्षेत्रबाट भेटिएको इजरायलका रक्षामन्त्री इजरायल कट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाले गाजामा बिशेष गरी उनको शव निकालेको हो । ती थाई नागरिक कृषि मजदुरका रुपमा दक्षिणी इजरायलमा कार्यरत थिए। सात जना थाई नगरिक त्यसबेला अपहरणमा परेकोमा पाँच जनालाई हमासले ६ महिनाअघि रिहा गरेको थियो।

अपहरण गरिएको एक महिनाभित्रै ती थाई नागरिकको हत्या गरिएको हुनसक्ने इजरायली सैनिक अधिकारीले जनाएका छन् ।यही सातामा इजरायली सेनाले इजरायली अमेरिकनको शव गाजामा भेटाएको थियो । ७ अक्टोबर २०२३ मा हमास नेतृत्वको समूहले इजरायलमा आक्रमण गरी इजरायली सेनासहित विभिन्न देशका नागरिकलाई अपहरण गरेको थियो । त्यसरी अपहरण गरि बन्धक बनाइएकामध्ये केहीलाई रिहा गरिएकोमा कतिपयको शव भेटिएको थियो । नेपालका विपिन जोशी लगायत केहीको अवस्था अझै अज्ञात छ । २० महिनाअघि हमासले गरेको आक्रमणपछि इजरायल–प्यालेस्टाइन युद्ध चलिरेहको छ । जसमा ५४ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।