जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १२:०९

अनुशासन विनाको स्वतन्त्रता अराजक हुन्छ, स्वतन्त्रता विनाको अनुशासन निरङ्कुश हुन्छ : हीरामान लामा 


हेटौँडा, २५ जेठ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिले पत्रकारहरूको क्षमता विकासको लागि तालिम सञ्चालन गरेको छ ।

प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष कार्यक्रम अन्तर्गत वाग्मती प्रदेशका पत्रकारहरूलाई तालिम दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोगमा हेटौँडामा सञ्चारकर्मीका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको संगठनका वाग्मती प्रदेश अध्यक्ष तिलक रिमालले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अध्यक्ष तिलक रिमालको अध्यक्षतामा भएको कार्यक्रम संगठनका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रम नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रमुख वक्ता हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै थपलियाले राजावादीहरूले व्यवस्था विरुद्ध नागरिकमा अनेक खालका भ्रम फिँजाउने काम गरेका बताउनुभयो । थपलियाले देश समाजवादको दिशामा अग्रसर भएको बताउँदै यो व्यवस्था विरुद्ध फैलाइएका भ्रम चिर्न पत्रकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले समाजमा रहेको निराशालाई चिर्ने गरी प्रेस चौतारीकर्मीहरूले आफ्नो कलम चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार रजिष्टार रेवती सापकोटाले एआईसँको सहकार्य रचनात्मक पत्रकारिता, आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा तथा प्रेस चौतारी नेपालका महासचिव लामाले संगठनात्मक संरचना र प्रेस चौतारी नेपालको आगामी योजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले संगठनमा अनुशासन र स्वतन्त्रता दुवै आवश्यक रहेको बताउनुभयो । ‘अनुशासन विनाको स्वतन्त्रता अराजक हुन्छ, स्वतन्त्रता विनाको अनुशासन पनि निरङ्कुश हुन्छ, संगठन निर्माणको क्रममा यी दुवै कुरालाई सन्तुलित बनाएर लैजानु पर्छ’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपाल मार्क्सवाद सिद्धान्तको आधारमा जनताको बहुदलीय जनवादी दर्शन बोकेर अघि बढ्न संगठन भएको उहाँले स्पष्ट पार्नुभयो । सो संगठन लेनिनवादी संगठनात्मक ढाँचा अनुसार अघि बढेको पनि लामाले प्रष्ट पार्नुभयो ।

महासचिव लामाले प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले सिप क्षमता विकास गरी पत्रकारितालाई अझ निखारपूर्ण बनाउनुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूको जिम्मेवारी, आचारसंहिता र व्यावसायिक धारबारे प्रष्ट पार्नुभएको थियो ।

उहाँले जनआन्दोलनको बेलामा प्रगतिशील पत्रकारहरूको योगदान बारे चर्चा गर्दै उहाँहरूले देखाएको बाटोमा प्रेस चौतारी नेपाल अघि बढ्नु पर्नेमा जोड दिनुभयो । समाजमा चेतना निर्माण र जागरणको लागि प्रेस चौतारी आबद्ध पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो । ‘अतिवाद विरुद्धको आन्दोलनमा पनि प्रेस चौतारी आबद्ध पत्रकारहरूको ठुलो योगदान रहेको छ’, लामाले भन्नुभयो ।

प्रेस चौतारी नेपालका सदस्य पत्रकार नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पत्रकारितामा लागेका मानिस मात्र अब प्रेस चौतारी नेपालका सदस्य हुन्छन्, यो न्यूनतम सर्त हो, पत्रकारितामा नलागेको मानिस प्रेस चौतारी नेपालको सदस्य बन्दैन’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालले नेपाली श्रमजीवी पत्रकारहरूको अगुवाइ गरेको उहाँले बताउनुभयो । ‘पत्रकारको हित र आमसञ्चारको नीति बनाउनको लागि हामीले नेतृत्वदायी भूमिका खेलेका छौँ, नेपाली पत्रकारितामा हाम्रो संगठनले स्वर्णिम इतिहास बनाएको छ’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालको सदस्यले कम्तीमा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद बारे बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो । मार्क्सवाद नबुझ्दासम्म जनताको मुक्तिको लागि काम गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै लेनिनवाद नबुझ्दासम्म प्रेस चौतारीको संगठनात्मक संरचना नै बुझ् नसकिने उहाँले स्पष्ट पार्नुभयो । यसै गरी जनताको बहुदलीय जनवादलाई नबुझी मार्क्सवाद र लेनिनवादलाई नेपाली मौलिकतामा प्रयोग गर्न नसकिने उहाँले बताउनुभयो ।

नेपाल महासंघका महासचिव रामप्रसाद दाहाल, महासंघका वाग्मती प्रदेश उपाध्यक्ष हरि हुमागाईँ, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।