जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १५:३६

अनेरास्ववियुको २४ औँ महाधिवेशन सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन 


काठमाडौं, २५ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व चयने गर्ने छ ।

महाधिवेशनमा सहभागीलाई अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्वागत गर्नुभएको थियो । उहाँले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यस विषयमा बन्द सत्रका गहन छलफल हुने उहाँले जानकारी दिनुभयो ।

संगठनका संस्थापकमध्येका विश्वकान्त मैनालीले एमालेको विधानका कारण आफू राजनीतिबाट सन्यासमा गएको जानकारी गराउनुभयो । एमालेले ७० वर्षे उमेर हद राखेपछि आफूले राजनीतिबाट सन्यास लिएको लिएको उहाँले सुनाउनुभयो । अहिले सो उमेर हदको व्यवस्था छैन ।

आफू अहिले एमालेको सल्लाहकारका रूपमा रहेको उहाँले बताउनुभयो । उहाँले नेपालमा कम्युनिष्ट पार्टी सिद्ध्याउने विदेशी एजेन्सीहरूको डिजाइन रहेको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टीको इतिहास जोगाउन सुझाव दिनुभयो ।

समकालीन राजनीतिमा ओलीमा राष्ट्र भक्तिको अडान रहेको कारण उहाँ माथि आक्रमण भइरहेको पनि मैनालीले बताउनुभयो ।