जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार ११:४४

इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज


गाजापट्टी । इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको आफ्नो जहाज (योट) रोकेको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) नामक संस्थाका कार्यकर्ताहरूले बताएका छन् ।  मेडेलिन नामक जहाजसँग आफ्नो सम्पर्क टुटेको उनीहरूले बताएको भन्दै एफएफसीले टेलिग्राममा भनेको छ ।

एफएफसीले एउटा तस्बिर पनि साझा गरेको छ,जसमा केही मानिसहरू लाइफ ज्याकेट लगाएर हात उठाएर बसिरहेका छन् ।  यो कुरा अहिलेसम्म कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । अन्तर्राष्ट्रिय वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग पनि यस जहाजमा थिइन् । यो इजिप्टको तट नजिकै भएको विश्वास गरिन्छ । यसैबिच, इजरायलको विदेश मन्त्रालयले एक्समा एक भिडियो जारी गर्दै यस जहाजका यात्रुहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

सेल्फी योटमा रहेका सबै मानिसहरू सुरक्षित छन् र उनीहरूलाई कुनै हानी भएको छैन । उनीहरूलाई स्यान्डविच र पिउने पानी खान दिइएको बताइएको छ । उनीहरूको नौसेनाले जहाजलाई प्रतिबन्धित क्षेत्रतर्फ जाँदैछ भनेर चेतावनी दिएको यसअघि,इजरायली विदेश मन्त्रालयले भनेको थियो । हमाससम्म हतियार पुग्न नदिन गाजामा नाकाबन्दी आवश्यक रहेको इजरायलले बताउँदै आएको छ ।