जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार १६:५६

विज्ञापन नै नछापी हाकिम र पत्रकार मिलेर रकम झ्वाम : प्रमुख प्रशासकीय अधिकृत र सम्पादकलाई लाग्यो भ्रष्टाचार मुद्दा


काठमाडौं, जेठ २६ । रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडा नम्बर ४ का कृषकका लागि स्प्रे टंकी खरिदसम्बन्धी बोलपत्र आह्वानको सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको भएको भनिएको सूचना वास्तविकरूपमा प्रकाशन नगरेको पाइएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सहलेखापाल नवीनकुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादव रहेका छन ।

उनीहरूले सूचना नै ननिकाली एकप्रति रेकर्डका लागि मात्र प्रिन्ट गरेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसारअनुसार जनसवाल राष्ट्रिय १ लाख ७२ हजार ८२५, तराई एक्सप्रेसलाई ३९ हजार ४ सय र तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रूपैयाँ भुक्तानी गरेको पाइएको छ ।

ती दुवै पत्रिकामा सूचना भने प्रकाशित नभएको पाईएको अख्तियारको छानविनले देखाएको छ ।

विज्ञप्ति

जिल्ला रौतहट, फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई औषधी स्प्रे टंकी वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा फतुवा विजयपुर नगरपालिका, रौतहटले आ.ब. २०७८/०७९ मा कृषकहरुका लागि वितरण गर्न स्प्रे टंकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न मिति २०७८।१०।१८ गते जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरी मिति २०७८।१०।२० मा प्रकाशित भएको भनिएको बोलपत्र आह्वानको सूचना र तराई पोष्टमा मिति २०७८।११।२७ मा प्रकाशित भएको भनिएको बोलपत्र स्वीकृत भएको आशयको सूचना सम्बन्धमा प्रेश काउन्सिल नेपालको पत्रबाट उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक तथा तराई पोष्टमा प्रकाशन भएको नदेखिएको भनी उल्लेख भएकोले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह-लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादव समेतको बदनियतपूर्ण उद्देश्यले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुट्टा नक्कली पत्रिका तथा बिल भरपाई पेश गरी सूचना प्रकाशन गरे वापतको रकम लिने दिने कार्य गरेको एवं भुक्तानीको लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेतको कार्य गरेको देखिंदा प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी नक्कली प्रति कार्यालयको अभिलेखमा राखी सो वापत कर कट्टी गरी रु.१,७२,८२५।-जनसवाल राष्ट्रिय दैनिकलाई र वोलपत्र स्वीकृत भएको आशयको सूचना तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएको भनी नक्कली पत्रिकाको एक प्रति कार्यालयको अभिलेखमा राखी सोवापत रु.३९,४००।  तराई पोष्टलाई गरी जम्मा रु.२,१२,२२५।– भुक्तानी दिएकोले आफूहरुलाई गैरकानूनी लाभ र फतुवा विजयपुर नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।