जनता टाइम्स

५ असार २०८२, बिहीबार ०६:२४

डाइभर्सन र दाउन्ने सधैंको सास्ती: नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध


काठमाडौं, ५ असार ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा पानीको सतह बढ्दा डाइभर्सनमा क्षति पुगेका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार राति बगाएको विनयी खोलाको डाइभर्सन मर्मत गरेर बुधवार साँझ एकतर्फी यातायात संचालनमा आएको थियो ।

निरन्तर वर्षाका कारण खोलामा पानीको सतह बढ्दै जाँदा डाईभर्सनमा क्षति पुग्ने र दाउन्ने खण्डमा पनि सवारी संचालनमा कठिनाई भएपछि अहिले पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।

बर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई सवारी संचालन गर्न असहज भएकोले बैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ, मुग्लिङ, पोखरा, स्याङजा हुदै बुटवल, काठमाण्डौबाट पश्चिम जाने सवारी साधनहरु मुग्लिङ पोखरा, स्याङजा हुदै बुटवल, पश्चिमबाट पूर्व जाने सवारी साधनहरुले बुटवल, स्याङजा, पोखरा, मुग्लिङ र साना सवारी साधनको हकमा सडक अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अनुरोध गरेको छ ।

गत पुस महिनामा ओभरलोडको भारतिय गाडिको ठक्करबाट विनयी पुल भाचिएपछि डाईभर्सनबाट यातायात संचालन हुदै आएको हो । सामान्य पानी पर्दा पनि विनयी खोलामा आउने बाढीले अस्थायी डाईभर्सन बगाउँदै आएको छ । जसले गर्दा दुम्किबास दाउन्ने सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरुले सास्ती झेल्दै आएका छन् ।

विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा भत्काएर छोडिएका सडकमा सामान्य वर्षा हुना साथ हिलो जम्ने र चिप्लने समस्याले सवारी संचालनमा कठिनाई हुँदै आएको छ ।