जनता टाइम्स

७ असार २०८२, शनिबार ०४:१२

अन्तिम खेलमा नेपालको हार : स्कटल्याण्ड जित्दा रनरेटमा पछि परी जित्न सकेन सिरिजको उपाधि


काठमाडौं, असार ७ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको टी २० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई ३४ रनले पराजित गरेको हो।

पराजित भएसँगै नेपालले सिरिज जित्न असफल भयो। सिरिजका चारमध्ये नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ । नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड दुवैलाई एक एक खेलमा हराउँदा एक एक खेलमा पराजय भोग्यो। सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान दुई दुई जित र दुई दुई हार ब्यहोर्दै चार चार अंक जोडे। रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भएका छन।

शुक्रबार ग्लास्गोमा स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८।५ ओभरमा १५९ रनमा अलआउट भयो। नेपालको ब्याटिङ कुनै बेला पनि राम्रो भएन। कुशल भुर्तेल ४ रन जोड्दा पहिलो ओभरमै आउट भए। त्यसपछि भीम सार्की १२ रनमा आउट हुँदा आसिफ शेख १४ रनमा रनआउटको सिकार भए।

यस्तै आरिफ शेख पनि ५ रनमा सफायन सरिफबाट बोल्ड भए। लगत्तै लोकेश बम ५ रनमा पेभिलियन फर्कदा नेपालको इनिङ संकटमा पर्यो। यस्तै कप्तान रोहित पौडेलले २७ रन र दीपेन्द्रसिंह ऐरी ३४ रन जोडेर आउट भएपछि नेपालको आसा सकियो। रुपेश सिंहले नटआउट ४३ रन जोडे पनि जिततर्फ लैजान सकेनन । उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा स्कटल्यान्डका क्रिस गेइभ्सले ३ विकेट लिए। घरेलु टोली स्कटल्यान्डले ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९३ रन जोड्यो।स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७८ रन बनाए। उनले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै ब्रान्डन म्याकमलेनले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए।

यस्तै माइकल लिक्सले १७ बलमा नटआउट २६ रन र म्याथ्यु क्रसले १३ बलमा नटआउट १७ रन बनाए। बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए ।