जनता टाइम्स

७ असार २०८२, शनिबार १२:५४

सर्लाहीको खैराटोलमा सडक विस्तारको विषयमा झडप : प्रहरीसहित तीन जना घाइते


काठमाडौं, ७ असार ।  सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारको विषयलाई लिएर झडप भएको छ ।

बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् । घाइतेहरु कुलबहादु कार्की, टीकाबहादुर कार्की र प्रहरी निरीक्षक गणेशको बरहथवा अस्पतालमा उपचार भइरहेको छ ।

अहिले खैराटोलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बरहथवा नगरपालिका–४ वडा कार्यालयले खैराटोलको सडक ढलान गर्न चालू आर्थिक वर्षको योजनाबाट सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सडक विस्तार गर्दा सडकको दुईतर्फ नै बराबर जग्गा लिनुपर्ने माग गरेकोमा केहीले जबर्जस्ती ढलान गर्न खोजेपछि झडप भएको स्थानीयवासीको भनाइ छ ।