जनता टाइम्स

९ असार २०८२, सोमबार १९:५८

अध्यागमनकाे मिलेमताेमा गतल तरिकाबाट मान्छे गए कर्मचारीमाथि अन दि स्पट कारबाही गर्ने गृहमन्त्रीकाे चेतावनी 


काठमाडौँ, असार ९/। गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालयमा साेमवार बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिनुभएको बताउनुभयो ।

“गतल तरिकाबाट मान्छे गएको थाहा पाए त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागेदार हुनेछ”, मन्त्री लेखकको भनाइ उदृत गर्दै प्रवक्ता तिवारीले भन्नुभयो, “शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।”

मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न जोड समेत दिनुभयो । “कर्मचारी आचरण सुधार हुनुप¥यो”, उहाँले भन्नुभयो, “अध्यागमनको कागजात, तथ्याङ्कदेखि हरेक कुराको रेकर्डका लागि डिजिटल प्रणाली स्तरोन्नति गर्न आग्रह गर्छु ।”

बैठकमा अध्यागमनको सुधारका लागि एक महिनायता भएको प्रयास र पहलकदमीका विषयमा मन्त्री लेखकले जानकारी लिनुभएको थियो ।

“एक महिनामा सुधारका के–के काम अघि बढे त्यो विषयमा पनि जानकारी मन्त्री ज्यूले लिनुभयो”, प्रवक्ता तिवारीले भन्नुभयो, “अध्यागमनको छविदेखि संरचनागत सुधारमा जोड दिनुभयो ।”

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयअन्तर्गत विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुखलगायतका उच्च पदस्थ कर्मचारी सहभागी हुनुहुन्थ्यो । अध्यागमन कार्यालयको भिजिट भिषाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भइरहेको छ ।