काठमाडौं, १८ असार । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एउटा विषयले असहज र तनावपूर्ण बनेको छ ।
पार्टीका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतबिच भएको आरोप–प्रत्यारोपले बैठकको वातावरण नै बिग्रिएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा मोहन बस्नेतले बोल्न थालेपछि सुरु भएको असन्तुलन, व्यक्तिगत हमलातर्फ मोडिएको थियो। बस्नेतले पार्टीभित्र राजनीतिक द्वन्द्व र आन्तरिक प्रतिस्पर्धाका नाममा आफूलाई मुद्दा चलाएर थुनामा हालिएको गुनासो गर्दै थापालाई सिधा लक्षित गरेर आरोप लगाउनुभयो । टेरामक्स प्रकरणको सन्दर्भ उल्लेख गर्दै उहाँले आफू विरुद्ध गगन थापा खुलेर लागेको आरोप लगाउनुभयो।
आफ्नो विरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा परेपछि पार्टीकै नेताहरूको त्यसमा संलग्नता भएको भन्दै उहाँ निक्कै आक्रोशित हुनुभएको थियो । उहाँले आफ्नो पार्टीभित्रैबाट प्रतिशोधको राजनीति भोग्नुपरेको भन्दै चेतावनी शैलीमा भन्नुभयो– ‘गगनजी, तपाईँ अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईँ कहाँ जानुहुन्छ, त्यो पनि हेरौँला।’
आफू विरुद्ध मुद्दा चलाउँदा पार्टीले एक शब्द नबोलेको उहाँले आरोप लगाउनुभयो । पार्टीले आरोप लगाउनेहरूलाई नै समर्थन गरेको उहाँको भनाइ छ ।
बस्नेतले गगन थापालाई कडा शब्दमा चेतावनी दिँदै भन्नुभयो -‘प्रतिशोधको राजनीति गरे कोही सग्लो बस्दैन।’ यो भनाइले कांग्रेस भित्रको वैचारिक तथा सांगठनिक द्वन्द्वको सतहभित्रको असन्तोष सतहमा ल्याइदिएको छ। पार्टीका शीर्ष तहमा रहेका नेताबिच विश्वासको अभाव, पुराना घाउ र प्रतिस्पर्धा अझै बल्झिरहेकै छन् भन्ने यसले प्रष्ट पारेको छ ।
मोहन बस्नेतका ती आरोप र आक्रोशको प्रत्यक्ष जवाफ कांग्रेस महामन्त्री गगन थापाले दिनुभयो । उहाँले आरोपलाई अशिष्ट, अराजनीतिक र अमर्यादित भन्दै कडा प्रतिवाद गर्नुभयो। ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न,’ उहाँको जवाफ थियो।
थापाले पार्टीभित्र वैचारिक बहस र आलोचनाको अधिकार सबैलाई भए पनि त्यसको भाषा, मर्यादा र तह कायम रहनुपर्ने कुरामा जोड दिनुभयो। ‘ म माथि लगाइएका आरोपहरूले राजनीति र सभ्यताको सीमा नाघेका छन्,’ उहाँले भन्नुभयो।
थापाले आफ्नो अनुपस्थितिमा बैठकमा धम्कीपूर्ण र अशोभनीय शब्द प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै त्यो कार्यशैली ‘नैतिक पतन’ को सङ्केत भएको टिप्पणी गर्नुभयो। ‘जब म तरुण दलको अनशनरत नेताहरूसँग वार्तामा थिएँ, त्यसबेला मेरो अनुपस्थितिमा हुङ्कार मिसिएको भाषामा आलोचना गर्नु, चेतावनी दिनु कस्तो राजनीतिक संस्कार हो ?’ उहाँले भन्नुभयो ।
थापा र बस्नेतबिचको दोहोरी चर्किँदै जाँदा कांग्रेस बैठकको वातावरण समेत असहज बन्यो। अन्य नेताहरूको अनुहारमा चिन्ता र असहजता देखिन थाल्यो। कतिपय नेताहरूले विषयवस्तु भन्दा शैलीप्रति नै आपत्ति जनाउनुभयो ।
पार्टीको सबैभन्दा उच्च निर्णय गर्ने निकायमा, खास गरी राष्ट्रिय हित र संगठन सुदृढीकरणको बहस चल्नुपर्ने स्थानमा व्यक्तिगत आरोप र बदला लिने शैलीको राजनीति हाबी हुनु कांग्रेसको नेतृत्व तहमा व्याप्त असहिष्णुता र ध्रुवीकरणको एउटा उदाहरण बनेको छ।
यो घटनाले कांग्रेसभित्र गहिरो पुस्तागत मतभेदलाई पनि उजागर गर्छ। गगन थापा पार्टीको युवा पुस्ताका प्रतिनिधि नेता हुनुहुन्छ भने मोहन बस्नेत २०४६ पछि पार्टीको मूलधारमा रहेका पुराना नेता हुनुहुन्छ । नयाँ पुस्ता र पुरानो पुस्ताबिचको दृष्टिकोण, नेतृत्वदायी भूमिका, र संगठन चलाउने शैलीमा विद्यमान खाडल यस्ता चर्काचर्की बहसमा झल्किन्छ।
पार्टीहरूमा बहस हुनु स्वाभाविक मानिन्छ, तर ती बहसहरू जब व्यक्तिगत आरोप, धम्की, अपमान र अविश्वासमा परिणत हुन्छन्, तब त्यसले संगठनको सामूहिक क्षमतामै प्रश्न उठाउँछ। गगन थापा र मोहन बस्नेतजस्ता शीर्ष नेताबिच यति कटु संवाद हुनु, त्यो पनि सार्वजनिक र बैठकभित्रै, कांग्रेसको आन्तरिक एकता र भविष्यप्रतिको चिन्ताजनक सङ्केत हो।
थापा–बस्नेत दोहोरी कांग्रेसको नेतृत्व तहमा वैचारिक असहमति, स्वार्थ टकराब र गहिरिँदो विभाजनको सङ्केत हो । यदि बहस व्यक्तिगत हमला र बदला लिने शैलीमा सीमित रह्यो भने, कांग्रेस न त युवा नेतृत्वको आग्रह सम्बोधन गर्न सक्नेछ, न त अनुभवी नेताहरूको ऊर्जा प्रयोग गर्न सक्नेछ। यस कारण, नेतृत्व तहमा संवादको नयाँ संस्कृति, पारदर्शिता र परिपक्वता अपरिहार्य भएको छ।
प्रतिक्रिया दिनुहोस्