काठमाडौं, २३ असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बजेट प्रक्रिया अवरुद्ध भइरहेका बेला सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै संवाद, संयमता र सहकार्यको लागि आग्रह गर्नुभएको छ।
असार १० भित्र बजेट ल्याउने संवैधानिक बाध्यता हुँदाहुँदै अहिलेसम्म कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति, स्रोत अनुमान समिति जस्ता महत्त्वपूर्ण संयन्त्र नबसी महानगरले अझैसम्म पनि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन।
यस्तो अवस्थामा उपप्रमुख डङ्गोलले फेसबुकमार्फत जनप्रतिनिधिहरू, विशेषतः कार्यपालिकाका सदस्यहरूलाई सम्बोधन गर्दै बजेट ल्याउन बाधा होइन, संवादका लागि हातेमालो गर्न आह्वान गर्नु भएको छ । ‘व्यक्तिगत वा प्रशासनिक कमजोरीलाई बहाना बनाउँदै प्रक्रियालाई अवरुद्ध गर्न मिल्दैन’, उहाँले लेख्नु भएको छ ।
उहाँले महानगरका जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै, ‘हामी जनताबाट निर्वाचित हौँ जनताको अपेक्षामाथि हामीले जबाफदेही हुनै पर्छ’, भन्दै स्पष्ट सन्देश दिनुभएको छ । उपप्रमुख डङ्गोलले आफूले उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तमा काम गर्दै आएको र सोही अनुसार बजेटसम्बन्धी कार्यमा पनि सधैँ संवादमार्फत अघि बढ्न खोजेको उल्लेख गर्नुभएको छ। ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ, जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन्, हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिनेछ, त्यसैले मैले मेरो पदीय जिम्मेवारी र मेरो क्षेत्राधिकारलाई ध्यानमा राखेर पटक–पटक ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसाथ गर्दै नगरबासीको हक, हितलाई ध्यानमा राखेर हातेमालो गर्दै अघि बढौँ भनेर भूमिका खेल्दै आएको छु’, उहाँले लेख्नु भएको छ ।
उहाँले बजेट तर्जुमा समिति, कार्यपालिका र नगरसभामा पटक–पटक समयमै बजेट ल्याउनु पर्ने विषयमा छलफल गरिसकेको बताउँदै, आइतबार मात्रै मेयर बालेन शाह, प्रवक्ता र केही कार्यपालिका सदस्यहरूसँग अनौपचारिक भेटवार्तामा यो विषयमा विस्तृत छलफल भएको र सकारात्मक सङ्केत पनि पाएको उल्लेख गर्नु भएको छ । ‘मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन, कार्यपालिका र नगर सभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु, आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु, उहाँहरूबाट मैले सकारात्मक सङ्केत पनि पाएकी छु’, डङ्गोलले लेख्नु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर बजेट रोक्न नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ । ‘मैले पटक–पटक भन्दै आएको छु र यहाँ पनि स्मरण गराउन चाहन्छु कि प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु हुँदैन, यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिलकुलै उचित होइन, यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानुनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु, कानुनी शासन र आफ्नो क्षेत्राधिकार भित्र रही सुशासन कायम गर्ने सन्दर्भमा नेतृत्व गर्न सदैव तयार छु, बरु यस मामिलामा जोसुकैबाट कैफियत वा अनियमितता भएको छ भने त्यसको पनि छानबिन तथा अनुसन्धान हुनु पर्दछ भन्ने मान्यता राख्दछु’, डङ्गोलले लेख्नु भएको छ।
फेसबुक पोस्टमा उहाँले जनप्रतिनिधिहरूलाई राजनीतिक परिपक्वता प्रदर्शन गर्न आग्रह गर्नु भएको छ । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ, डुङ्गा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ, हामी सबै हातेमालो गरेर अघि बढौँ ’, उहाँले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्