जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार २१:२४

कांग्रेसका चुनावी कमाण्डर नै नेकपामा प्रवेश


पोखरा, मंसिर ३ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका चुनावी कमाण्डर नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसमा लामो समय बिताउनु भएका जानकी बुथका बुथ समिति सभापति तथा पोखरा १७ निर्वाचन परिचालन समिति कमाण्डर नगेन्द्र शर्मा भण्डारी आज बिद्या भट्टराई अधिकारीलाई जिताउने घोषणासहित नेकपामा प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसले बिकाश भन्दा बिनासको बाटोलाई आफ्नो नीति बनाएकोले आफू लामो समय दुःख गरेको भएपनि सो पार्टी त्यागेर बिकाशका लागि नेकपा रोजेको भण्डारीले बताउनु भयो । कास्कीका बिकाशप्रेमी नेता स्वर्गीय रवीन्द्र अधिकारीबाट प्रभावित भएको उल्लेख गर्दै उहाँले रवीन्द्रले देखेका सपना पूरा गर्न नेकपा रोजेको बताउनु भयो । उहाँले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आफू लागि पर्ने घोषणा पनि गर्नुभयो ।

‘यो माहोलले मंसिर १४ गते बेलुकालाई कुरिरहेको होला । त्यस दिन नेकपाका उम्मेद्वार बिद्या भट्टराई जिताउनेछ । मलाई दुःखपनि लागिरहेको छ, मैले धेरै समय नेपाली कांग्रेसमा बिताए, नेपाली कांग्रेसले ल्याएको गुरुयोजनाहरुबाट बिकाश संभव देखिन, बिकाश होइन बिनासतिर लागे । बिकाशको बिरोध गर्नुहुन्न भन्दा सरकारलाई असफल बनाउनु पर्छ भन्दै लाग्नु हुन्थ्यो,’ भण्डारीले भन्नुभयो, ‘तर म बिनास होइन, बिकाश चाहन्थे, कमरेड रविन्द्र अधिकारीको सपना साकार पार्न चाहन्थे । कांग्रेसमा रहेर संभव नभएपछि लामो समयदेखि लागेको त्यो पार्टी त्यागेर म समृद्धिका लागि नेकपामा आएँ ।’

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाउनु भएको समृद्ध नेपालको अभियानमा साथ दिन पनि आफूले नेकपा नै रोजेको बताउनु भयो । ‘सम्माननीय प्रधानमन्त्रीको समृद्ध नेपाल, सखी नेपाली बनाउने अभियानमा साथ दिन नेकपामा आएँ नेपाली कांग्रेस त्यागेर, कांग्रेसबाट बिकाश संभव छ भन्ने भ्रम समाप्त भएपछि यस्तो निर्णय लिएको हुँ,’ भण्डारीको भनाई थियो । भण्डारीसहित समाजसेवी षडानन्द शर्मा, तरुण दलका नेता विष्णु पोखरेल लगायत पनि नेकपा प्रवेश गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका पुराना नेता पुष्पराज तिमिल्सिना पनि नेकपा प्रवेश गर्नुभयो । उहाँहरुलाई गण्डकी सहइन्चार्ज खगराज अधिकारी अधिकारी र कास्की इन्चार्ज राजकाजी गुरुङले स्वागत गर्नुभयो । प्रजातान्त्रिक आन्दोलनमा पटक पटक जेल परेका तिमिल्सिना २ कार्यकाल कांग्रेस वडा सभापति हुनुहुन्थ्यो । उहाँले कांग्रेसमा अवसरवादी मात्रै अटाएको घोषणा गर्दै समाजवादको यात्रामा लाग्न नेकपा रोजेको बताउनु भयो ।

पोखरा १६ मा भएको कार्यक्रममा सहइन्चार्ज अधिकारीले बस्ती बस्तीमा गएर जनताका आवाज सुन्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा कास्की इन्चार्ज गुरुङले विकास र नीति निर्माणको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा नेकपा कस्की सदस्य दानबहादुर बानिया, वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, सचिव निर्मल आचार्य लगायतले बोलेका थिए । मंगलबारै पोखरा १६ मा युवा भेला भएको छ ।