जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ०९:२२

अपहरणमा परिएको भनिएको डिजल ट्यांकर यस्तो अवस्थामा भेटियो


काठमाडौं, मंसिर ४

अपहरणमा परेको भनिएको डिजल ट्यांकर दुई दिनपछि धनुषाको सपही भन्ने स्थानमा फेला परेको छ । थिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खरेलले जानकारी दिनुभयो ।

ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भईरहेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो ट्यांकर फेला पारेको हो । मंगलबार टंयाक्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरीको खोजीपछि रित्तै फर्किएको थियो । अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनदेखि हराएको थियो ।

ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको थियो । ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए । प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ ।