जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार ०७:१७

उपचारका क्रममै रहेका यादवको मन्त्री पद गयो


काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनगर्ठन गर्नु भएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा नौ जना नयाँ अनुहार थपिएका छन् भने नौ जना पुराना अनुहारलाई बिदा गरिएको छ । पुर्नगठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, बसन्तकुमार नेम्बाङ, पार्वत गुरुङ, मोतिलाल दुगड, रामवीर मानन्धर र नवराज रावत थपिएका छन् ।

त्यस्तै गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा, रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढालाई मन्त्रीको जिम्मेवारीबाट बिदा दिइएको छ ।

मन्त्री पदबाट बिदा पाउनेमा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव पाँच दिनदेखि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । मेरुदण्डको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि राज्यमन्त्री वीर अस्पतालको भीआईपी कक्षमा उपचाररत हुनुहुन्छ । स्वास्थ्य राज्यमन्त्रीमा सुर्खेत २ बाट तत्कालीन नेकपा एमालेबाट विजयी नवराज रावतलाई उक्त जिम्मेवारी दिएको छ ।

उहाँलाई नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पहिलो पटक नर्भिक अस्पतालमा भर्ना भए पनि त्यहाँ लामो समय कुर्नु पर्ने भएकाले राज्यमन्त्री यादव वीर अस्पताल पुग्नु भएको थियो । मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी भए पनि उहाँलाई बर्खास्त हुन्छु भन्ने थाहा थिएन ।