जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १८:०७

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने : यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था (बिज्ञप्तीसहित)


काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी ओली केही दिन अस्पतालमै रहनुहुने भएको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा आज एपेन्डिसाइटिसको शल्यक्रिया भएकोले प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहनु चिकित्सकले जनाएका हुन ।

उहाँको आज बिहान सफल शल्यक्रिया भएको हो । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको हो । प्रधानमन्त्री ओलीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै आराम गरी बस्नुपर्ने हुन्छ । पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो । ओली नियमित फलोअपका लागि आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिस जानुभएको थियो ।

लामो समयदेखि मिर्गौलाको उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने सायमीले जानकारी दिनुभयो । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उहाँको चौथो पटक आइतबार (मंसिर ८ गते) ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको थियो ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स नामक आन्द्रामा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ । शरीरमा रहेको छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिसाइटिस हुनुभन्दा पहिले व्यक्तिको पेट पटक–पटक दुखिरहन्छ । दुखाइ विस्तारै पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । दुखाइ विस्तारै बढ्दै जान्छ । कहिलेकाही यो केही समयका लागि आफै निको पनि हुन्छ, तर फेरि बढ्छ ।

एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाइ सही नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना बढी हुन्छ । यस्तो अवस्थामा चिकित्सकले छिट्टै शल्यक्रिया गर्न सल्लाह दिन्छन । एपेन्डिसाइटिस दुई प्रकारका हुन्छन् ।

क्रोनिक एपेन्डिसाइटिस

क्रोनिक एपेन्डिसाइटिसको दुखाइ लामो समयसम्म भइरहन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा असर गरेपछि यसको लक्षण देखापर्छ। एपेन्डिक्स संक्रमण भए विस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । बिरामीलाई उठ्न बस्न निकै समस्या हुन्छ । समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न सक्छ । बिरामीले समयमै उपचार पाएहाँ भने मृत्युको नजिक पुग्न सक्छ ।

एक्युट एपेन्डिसाइटिस

एक्युट एपेन्डिसाइटिस क्रोनिक एपेन्डिसाइटिसजस्तो हुँदैन । यो केही समय वा केही दिनभित्र विकसित हुन्छ । एक्कासी पेट दुख्न थालेपछि कतिपय बिरामीले ग्याष्ट्रिक बढ्यो भनेर लापरवाही गर्छन । त्यसैले सुरुमा यसको पहिचान गर्न अप्ठयारो हुन्छ । यदि एक्युट एपेन्डिसाइटिस भएमा तत्काल शल्यक्रियाको अवश्यकता पर्छ । एपेन्डिक्समा दिसा रोकिएमा, वा जीवाणुको संक्रमण भएमा वा कुनै अन्य प्रकारको रोकावट भएमा यसले रोगको रुप लिन थाल्छ । यदि दुखाइ छिटो र सही नसक्ने गरी बढ्छ भने यसको संक्रमण पनि बढेको भन्ने बुझिन्छ । यस्तो अवस्थामा शल्यक्रियाको जरुरी पर्छ ।

 

सिंगापुरमा दुई पटक उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । गत कात्तिक १३ र १४ गते ग्राण्डी अस्पतालमै उहाँको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो । मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उहाँ निकै सक्रिय बन्दै आउनु भएको छ । २५ दिनको अवधिमा आइतबार चौथो पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उहाँले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आउनुभएको छ ।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको छ । नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा भने चिकित्सकहरु अझै निर्णयमा पुग्न सकेका छैनन । चिकित्सकले यो विषयमा छलफल भने गरिरहेका छन । एपेन्सिसाइटिसको शल्यक्रियाले तत्कालका लागि प्रधानमन्त्रीको मिर्गौला पत्यारोपण भन्दा डायलासिस नै उचित उपचार विधि हुने सुझाव दिइएको छ । अहिले प्रधानमन्त्री ओलीलाई असहज महसुस भए मात्र डायलाइसिस गरिँदै आएको छ ।

मिर्गौला पूर्णरूपमा फेल भएपछि सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मिर्गौलाले काम गरिरहे पनि सुधारोन्मुख अवस्थाबारे सूक्ष्म ढंगले निगरानी भइरहेको चिकित्सकले बताएका छन । प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो । मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ ।