जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १२:५१

चेकमा नक्कली हस्ताक्षर गरेर लाखौं निकाल्ने समुह राजधानीमा सक्रिय, यसरी खुल्यो पोल


काठमाडौं, मंसिर ११

राजधानीको एक बैंकबाट नक्कली हस्ताक्षर गरेर लाखौ रुपैयाँ निकालेको खुलेको छ । नयाँ बानेश्वरमा रहेको जनता बैंकबाट हस्ताक्षर किर्ते गरेर एउटा समुहले करिव २० लाख रुपैयाँ निकालेको हो ।

बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनिहरुले चेकमा नक्कली हस्ताक्षरमात्र गरेनन् । चेकबुक हराएको भनेर निवेदन समेत दिएर नयाँ चेक बुक निकालेपनि खुलेको छ ।

प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरेलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको ‘सिग्नेचर’ चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र ‘सिग्नेचर’ मिलाएर लाखौं पैसा निकाल्ने गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका युवाले खातावालहरुको सक्कली भिसा कार्डसमेत बनाएर प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतो देखिएको आशंका गरेको छ । प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाले पक्राउ परेका युवाबाट १८ लाख ५० हजार नगद, विभिन्न व्यक्तिको नागरिकताको दुई सय ९० थान प्रतिलिपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर, विभिन्न व्यक्तिहरुको आठ सय २५ थान फोटोलगायतका सामानहरु बरामद गरिएको पनि जानकारी दिनुभयो । उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको छ ।