सलकपुर, साउन ४ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बिराटचोकस्थित सुकुना माध्यमिक विद्यालय (मावि) मा अध्ययनरत छात्राहरुलाई यौन दुर्ब्यवहार गरेको आरोपमा विद्यालयकै दुई जना शिक्षक र एक जना सवारी चालक पक्राउ परेका छन ।
छात्राहरूको अडियो सार्वजनिक भएपछि प्रहरीले सोमबार बिद्यालयकै दुई जना शिक्षक र एक जना सवारी चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा-२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमध्ये भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।
छात्राहरुमाथि दुव्र्यवहार गरेको आरोपमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश (म्यासेज) पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको जानकारीमा आएपछि शिक्षक र सवारी चालकलाई पक्राउ गरिएको हो ।
छात्राहरूले शिक्षकमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन । विद्यालयको लेखा अधिकृतसमेत रहेका शिक्षक अविरल मास्केमाथि विद्यालयमै अध्ययनरत र पूर्वपीडित छात्राहरुले उक्त आरोप लगाएका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा आफूहरुमाथि भएका यौनजन्य दुव्र्यवहार, अनुपयुक्त संवाद तथा मानसिक उत्पीडनको खुलासा गरेपछि घटना सार्वजनिक भएको हो । शिक्षक मास्केले अश्लील म्यासेज पठाउने, व्यक्तिगत सम्बन्ध बनाउन दबाब दिने र जथाभावी शरीरमा छुने गरेको उनीहरुको आरोप छ ।
‘यो अबिरल सरलाई जेल हाल्नैपर्छ । मलाई यस्तो गरेको छ नि । ऊ एउटा बाटो हिँडिरहँदा,म अर्कै बाटो हिँड्थे । त्यसले मलाई त्यस्तोसम्म भनेको छ । म बयान गर्न सक्दिन ती कुराहरु । मलाई कस्तो फिल भएको थियो त्यो बेला भनेर ? त्यतिबेला मलाई डर लाग्थ्यो । स्कूलमा मेरो बदनामी हुन्छ भनेर कसैलाई भन्न सकिन,’ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा पीडित एक छात्राले भनेकी छन ।
यस्तै अर्की छात्रा भन्छिन्, ‘कक्षा ११ मा हामी नयाँ भर्ना थियौं । त्यो सरले हामीलाई अकाउण्ट पढाउँथ्यो । मेरो साथीलाई बेबी, डार्लिङ भन्दै बाटो छेक्थ्यो । मेकअप गरेकी छस भन्दै गाला र हात समाउन आउँथ्यो । मैले हेडसरलाई गएर भनौं भनेँ तर साथीले नमानेपछि चुप लाग्यौं ।’
विद्यालयकी एक पीडित पूर्वछात्राले भने यसबारे अन्य शिक्षकसँग गुनासो गर्दासमेत कुनै कदम नचालिएको आरोप लगाएकी छन् । ‘हामीले अफिसमै गएर भनेका थियौं । अबदेखि त्यसो गरेमा झापड हानिदिनू,स्ट्याण्ड लिनु भनियो । उहाँहरु गम्भीर नै हुनुभएन । यसले हामी निराश भयौं र बोल्नै छोड्यौं ।’ आफूहरुसँग ठोश प्रमाण नभएकोले त्यतिबेला मौन बस्न बाध्य भएको उनीहरूको भनाई छ । सुकुना कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय मानिन्छ ।













प्रतिक्रिया दिनुहोस्