काठमाडौं, साउन १४ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव र देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार केहीबेरअघि सुरु भएको बैठकमा पछिल्लो सुरक्षा अवस्था, शान्ति व्यवस्था तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षासचिव सहभागी हुनुहुन्छ। पछिल्ला घटनाबाट विकसित सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित रहेको सचिवालयले जनाएको छ।
सुनसरीमा भएको झडपका क्रममा एक युवकको मृत्यु भएपछि त्यसको राजनीतिक प्रतिध्वनि संघीय संसद्सम्म पुगेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका सांसदहरूले घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। नागरिकको ज्यान गएको घटनाको निष्पक्ष छानबिन, गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा स्पष्ट जवाफ र सरकारको जिम्मेवारीबारे सांसदहरूले लगातार आवाज उठाइरहेका छन्।
यहीबीच प्रतिनिधिसभाको बैठक चलिरहेका बेला प्रधानमन्त्री साहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको हो। संसद्मा प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग भइरहेका समयमा प्रतिनिधि सभा बैठक जुधाएर सुरक्षा परिषद्को बैठक आह्वान गरिएकाले त्यसले पनि राजनीतिक चासो बढाएको छ।
पछिल्ला समयमा सुरक्षा निकायका प्रमुखहरुलाई भेट समेत नदिने प्रधानमन्त्रीले सुनसरी घटनापछि आफू अप्ठेराेमा परेपछि उच्चस्तरीय सुरक्षा बैठक बाेलाउनु भएकाे हाे।
सुनसरी घटनापछि विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सामाजिक सद्भाव कायम राख्न, अफवाह फैलिन नदिन र कानुनी प्रक्रियामार्फत घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारमाथि दबाब बढ्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्