काठमाडौं, साउन १५ । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि शव बुझ्न अस्वीकार गरेका छन्। परिवारको अडानपछि दुवै मृतकको अन्त्येष्टि तथा पोस्टमार्टम प्रक्रिया अन्योलमा परेको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति सरकार र पीडित पक्षबीच भएको वार्तापछि विभिन्न माग सम्बोधन गर्ने सहमतिसहित सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। उक्त सहमतिअनुसार शुक्रबार शव बुझेर अन्त्येष्टि गर्ने तयारी रहे पनि स्थानीयको असन्तुष्टि र विरोधका कारण परिवारका सदस्यले शव नबुझेको जनाइएको छ।
विराटनगरस्थित न्युरो अस्पताल पुगेका मृतकका आफन्तहरू पुनः गाउँ फर्किएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निरन्तर छलफल भइरहेको र सहमतिका लागि प्रशासन तथा सुरक्षा निकायले समन्वय गरिरहेको जानकारी दिनुभयो।
गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको थियो। दुवै जनाको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ।
सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाका दोषीमाथि कानुनी कारबाही गरिने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने तथा मृतकको स्मृतिमा स्मृति पार्क निर्माण गरिने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट कृष्णदेव मेहता र नरेश मेहताले तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ। यद्यपि सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै शव नबुझ्ने निर्णय भएपछि प्रक्रिया प्रभावित बनेको छ।
यसैबीच, सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग पनि सरकारले छुट्टै सहमति गर्नुपर्ने माग उठाइएको छ। सोही मागका कारण देवानगञ्ज घटनाका मृतकको शव बुझ्न नमानेका प्रहरीको भनाइ छ।
घटनापछि गृहमन्त्रीले स्थानीय तहसँग पर्याप्त समन्वय नगरी वार्ता र निर्णय प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि बढेकाे छ। सङ्कटको समयमा स्थानीय सरकार स्थानीयलाई बेवास्ता गरिएको स्थानीय जनप्रतिनिधि र नागरिकहरुकाे भनाइ छ ।
साे गोलीकाण्डमा १० जना स्थानीय युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार भइरहेको छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक गतिविधि भएका थिए। त्यसपछि स्थानीय प्रशासनले जिल्लाका नौ स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । साे घटनाकाे प्रभाव पूर्वी तराइका जिल्लामा पनि परेकाे छ ।













प्रतिक्रिया दिनुहोस्