जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १८:३२

क्रुरताको पराकाष्टा : दुर्घटनापछि उद्धारको साटो कुटपिट र घाँटी कसेर साथीको हत्या


बर्दिया, साउन १९ । बर्दियामा मोटरसाइकल दुर्घटनामा परेका घाइतेलाई साथीले नै घाँटीमा बेरेर हत्या गरेको तथ्य खुलेको छ । मोटरसाइकलमा सवार दुईमध्ये एक जना बेपत्ता भएपछि खोजीको क्रममा पक्राउ परेलगत्तै यस्तो क्रुरता बाहिर आएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ। साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए। सोही दुर्घटनापछि मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन बने ।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो। प्रहरी अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले हत्या गरेको खुलेको छ।

जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको माला वा डोरीले घाँटी कसी हत्या गरेको र शव सिँचाइ नालामा फालेर फरार भएको अनुसन्धानबाट पुष्टि भएको छ। घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।