जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार १७:३९

वाग्मतीमा मुख्यमन्त्री चयनबारे एमालेभित्र नयाँ छलफल, किरण थापा मगरको नाम चर्चामा


काठमाडौं, साउन १९। वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेकपा (एमाले) भित्र संसदीय दलको नेतृत्व र मुख्यमन्त्रीको उम्मेदवारबारे पुनः छलफल सुरु भएको छ।

दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा सरकार गठन गर्ने प्रारम्भिक सहमति भए पनि आवश्यक बहुमत जुटाउन कठिनाइ देखिएपछि विकल्पका रूपमा किरण थापा मगरको नाम चर्चामा आएको छ ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरूबिच भएको छलफलमा संसदीय दलको नेतृत्व परिवर्तन नगरी जगन्नाथ थपलियाकै नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउने समझदारी बनेको बताइएको थियो। सोहीअनुसार बहुमत जुटाएर सरकार गठनको पहल गर्न थपलियालाई जिम्मेवारी दिइएको थियो।

तर, आवश्यक बहुमत सुनिश्चित गर्न अपेक्षित प्रगति हुन नसकेपछि सोमबार राति पार्टी नेतृत्वले सरकार गठन प्रक्रियाबारे पुनः समीक्षा गरेको थियो। पार्टी नेतृत्वले बहुमत जुटाउन सक्ने नेतालाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने बताएको थियो ।

एमालेभित्र किरण थापालाई संसदीय दलको नेता बनाउने पक्षमा यसअघि नै १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सङ्कलन भएको बताइएको छ। सोही आधारलाई कायम राख्दै सरकार गठनका लागि आवश्यक बहुमत जुटेमा नयाँ दाबी प्रस्तुत गर्ने तयारी भइरहेको बुझिएको छ ।

राप्रपासहित अन्य दलका केही प्रदेशसभा सदस्यको समर्थन जुटाउन किरण थापाले सक्रिय पहल गरिरहनुभएको  बुझिएको छ । उहाँलाई समर्थन गर्ने राप्रपाका सांसदहरूले पनि बचन दिएको बुझिएको छ । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीसँग छलफल भइरहेको छ ।

वाग्मती प्रदेशसभामा १०४ सदस्य रहेका छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ भने नेकपासँग २६, एमालेसँग २५, राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छन्।

यसअघि नेपाली कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसयता नयाँ सरकार गठनको प्रयास जारी रहे पनि कुनै पक्षले आवश्यक बहुमत जुटाउन नसक्दा सरकार गठन प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन।

थापाको पक्षमा बहुमत पुगेमा भोलि नै राप्रपाको समर्थनमा उहाँले मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना रहेको छ ।