काठमाडौं, साउन १९ । प्रधानसेनापति अशोक राज सिग्देल रास्वपाका सांसद राजुनाथ पाण्डेको बिषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग कडा आक्रोश पोखेको पाइएको छ ।
मंगलवार बिहान भएको भेटबार्तामा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेनलाई सेनापति सिग्देलले इमानका साथ काम गरिरहेको डियटीमा रहेको फौजीलाई जिस्क्याउने ? नेपाली सेनाको अधिकृतलाई जो पायो त्यहीले थर्काउने ? भन्दै कडा आक्रोश पोखेको स्रनिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहसँग सेनापति सिग्देलले सांसद पाण्डेले सेनाका अधिकृतमाथि गरेको दुब्र्यवहारलाई सहेर बस्न नसक्ने प्रष्ट जानकारीसमेत दिएका थिए । ‘नेपाली सेनाको अधिकृत थर्काउने ? जे पायो त्यही आदेश दिने ? त्यो को हो ? सांसद भएँ भन्दैमा मनपरी गर्न पाइन्छ ? यस्तो हर्कत फौजीले सहन्न सम्माननीयज्यू । मैले यति मात्र भनें, बाँकी तपाईंले कदम चाल्नोस,’ सेनापति सिग्देलको आक्रोश उधृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।
काठमाडौँको गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेना र प्रधानमन्त्री बालेनका बिश्वाशपात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेबीच भएको विवाद सार्वजनिक भएको थियो । भिडियो नै बाहिर आएर सो घटनाको चौतर्फी चर्चा भएपछि सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिनुपरेको छ ।
गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र खटिएका सैनिक अधिकारीबिच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा काठमाडौँ क्षेत्र नम्बर ३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिहरू डोजर लिएर पुग्नुभएको थियो ।
सो क्रममा सुरक्षामा खटिएका सैनिक अधिकारीले आधिकारिक पत्र माग गर्दै ब्यारेक र सुरक्षा संवेदनशीलताको विषय उठाउँदा सांसद पाण्डेले भौतिक पूर्वाधारमन्त्री नेपाल ट्रस्टको अध्यक्ष रहने र सडक विस्तारको काम नरोकिने भन्दै पर्खाल भत्काइछाड्ने उर्दी जारी गर्नुभएको थियो । सेनाले आफ्नो कर्तब्य पालन गर्दा पाण्डेले थर्काएको भन्दै प्रधानसेनापति सिग्देल आक्रोशित बन्नुभएको थियो । सो घटनालगत्तै सैनिक मुख्यालयले अति जरुरी छ भन्दै प्रधानमन्त्री कार्यालयमा सन्देश पठाएको थियो ।
सन्देशलगत्तै प्रधानमन्त्री शाहले समय दिनुभएको बताइएको छ । भेटमा सोही घटनाको बिषयमा विषयमा केन्द्रित भएर प्रधानमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच छलफल भएको स्रोतले बतायो । प्रधानसेनापतिको आक्रोशपछि प्रधानमन्त्री बालेनका सचिवालय सदस्यले तत्कालै सांसद राजुनाथ पाण्डेलाई फोन गरेर प्रधानमन्त्री कार्यालय बोलाएका थिए ।
त्यसपछि पाण्डेलाई ‘जहाँ पनि प्रधानमन्त्रीको नाम लिने होइन’ भन्दै सचेत गराउनुका साथै अव आइन्दा सेनातिर आँखा पनि नलगाउन भनिएको स्रोतले बतायो । प्रधानमन्त्री शाहको टीमले सांसद पाण्डेलाई सेनाका अधिकृतसँगै गएर माफी माग्नसमेत आदेश दिएको छ ।













प्रतिक्रिया दिनुहोस्