काठमाडौं, साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाएको छ । प्राधिकरणले २०८३ साउन १९ गते अर्थात् ४ अगस्ट २०२६ देखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो ।
नयाँ इन्धन शुल्क ४ अगस्ट २०२६ देखि लागु हुने प्राधिकरणले जनाएको छ । नेपाल आयल निगमले २ अगस्ट २०२६ मा हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेको थियो । बढेको मूल्यअनुसार विभिन्न हवाई क्षेत्रमा लाग्ने भाडादर पुनः निर्धारण गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।
नयाँ व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ । मुख्य हवाई क्षेत्र अर्थात् ट्रंक सेक्टरमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ कायम गरिएको छ । यससँगै विभिन्न गन्तव्यको हवाई भाडा पनि बढेको छ ।
काठमाडौं–माउन्टेन क्षेत्रको भाडादर सात हजार ८६० रुपैयाँबाट बढेर आठ हजार ५४५ रुपैयाँ पुगेको भने काठमाडौं-भद्रपुरको ६ हजार ८७५ बाट ७ हजार ४८० रुपैयाँ, काठमाडौं-विराटनगरको ५ हजार ५०० बाट ५ हजार ९८० रुपैयाँ, काठमाडौं-जनकपुरको २ हजार ९४५ बाट ३ हजार २०५ रुपैयाँ र काठमाडौं-पोखराको ३ हजार ६३५ बाट ३ हजार ९५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौं-भैरहवाको इन्धन शुल्क ४ हजार ७१५ बाट ५ हजार १२५ रुपैयाँ, काठमाडौं-नेपालगन्जको ७ हजार ४६५ बाट ८ हजार १२० रुपैयाँ, काठमाडौं–धनगढीको १० हजार १२० बाट ११ हजार रुपैयाँ र काठमाडौं–सुर्खेतको ७ हजार ९१५ बाट ८ हजार ६०५ रुपैयाँ पुगेको छ ।
दुर्गम तथा छोटो दुरीका हवाई क्षेत्रमा पनि शुल्क बढाइएको छ । एसटीओएल उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ र प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ निर्धारण गरिएको छ ।
दुर्गम क्षेत्रका लागि गरिएको गणनामा नयाँ हवाई इन्धन मूल्य २४९ रुपैयाँ प्रतिलिटर, प्रतिउडान यात्रु संख्या १५ जना र प्रतिघण्टा इन्धन खपत ३४२ लिटर राखिएको छ। सो आधारमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ कायम गरिएको हो ।














प्रतिक्रिया दिनुहोस्