काठमाडौं, साउन १९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि आम उपभोक्ताले भने गम्भीर सास्ती भोग्नुपरेको बताउनुभएको छ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारको दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गर्नुभयो।
उहाँले सरकारले “एलपी ग्यासको कुनै अभाव छैन” भन्ने दाबी गरिरहेको भए पनि सिलिन्डर बोकेर ग्यास डिपो पुगेका उपभोक्ताले “१५ दिनपछि मात्र पालो पाइन्छ” भन्ने जवाफ सुन्न बाध्य भएको बताउनुभयो।
महासचिव पोखरेलले जनताले दैनिक रूपमा भोगिरहेको समस्यालाई अस्वीकार गरेर समाधान ननिस्कने उल्लेख गर्दै सरकारलाई वास्तविक अवस्था स्वीकार गर्न आग्रह गर्नुभयो। “जनताले भोगेको यो सास्तीलाई अस्वीकार गरेर समस्याको समाधान हुँदैन। अभावलाई लुकाएर होइन, यथार्थ स्वीकार गर्दै तत्काल व्यावहारिक समाधान खोजियोस्,” उहाँले भन्नुभएको छ।
उहाँले उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्ने वातावरण बनाउन आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन तथा देखिएका समस्याको तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्