जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १५:३०

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल


काठमाडौं, असोज ५ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा सहभागी हुनुभएको थियो।

प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल र परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ।

भेटका क्रममा कांग्रेस नेताहरूले भोटेकोशी विपद्लगायत जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका संकटलाई आवश्यक तथ्य, प्रमाण र दाबीसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।

कांग्रेस उपसभापति शर्माले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्था र तथ्यलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ। उहाँले प्रधानमन्त्रीले सिंगो देश र नेपाली जनताको ऐक्यबद्धतालाई समेत प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ।

त्यस्तै, नेपालले न्यून कार्बन उत्सर्जन गर्ने साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने तथा पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रसँग कूटनीतिक रूपमा गहन संवाद गर्नुपर्ने सुझावसमेत दिइएको शर्माले जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।