जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १५:१७

राजदूत सिफारिसमा सरकारले आफ्नै मापदण्ड मिचेको राप्रपा सांसद शाहीको आरोप


काठमाडौं, असोज ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सरकारले राजदूत सिफारिस गर्दा आफैंले निर्धारण गरेको मापदण्ड पालना नगरेको आरोप लगाउनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले तय गरेको मापदण्डअनुसार राजदूत सिफारिस नगरिएको दाबी गर्नुभयो। उहाँले सरकारले आफ्नै मापदण्ड किन कार्यान्वयन गर्न नसकेको भन्दै प्रश्न उठाउनुभयो।

शाहीले प्रस्तावित राजदूतमध्ये केहीको पृष्ठभूमि अन्तर्राष्ट्रिय तथा विदेशी सहयोगमा सञ्चालित संस्थासँग जोडिएको भन्दै त्यसबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो।

राजदूत सिफारिसमा मापदण्ड उल्लंघन भएको विषयलाई उहाँले ‘विदेशी दबाब’ वा ‘आर्थिक चलखेल’सँग जोडेर आशंकासमेत व्यक्त गर्नुभयो। यी विषयमा सरकारले संसदमा जवाफ दिनुपर्ने उहाँको माग छ।

सरकारले गत शुक्रबार भारत, चीन, अमेरिका, बेलायतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो। सिफारिसअनुसार भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाको नाम प्रस्ताव गरिएको छ।

त्यस्तै, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ।

परराष्ट्र मन्त्रालयले राजदूत सिफारिसका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अन्तर्गत योग्यता र कार्यशर्त तोकेर आवेदन मागेको थियो। सरकारले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइको प्रक्रियामा जानेछन्।