काठमाडौं, असोज ५ । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका गरिएका चालक २५ वर्षीय दावा लामाको अवस्था गम्भीर रहेको छ।
रिद्धिसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी हुँदा चालक लामा बसभित्रै हुनुहुन्थ्यो। उद्धार गरी उहाँलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ। उहाँको अवस्था गम्भीर रहेको र उपचार चुनौतीपूर्ण रहेको चिकित्सकले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक लामाले नै बसमा आगो लगाएको हुनसक्ने देखिएको छ। आगो लगाउनुको वास्तविक कारण भने खुलिसकेको छैन। ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर यस्तो कदम चालिएको हुनसक्ने प्रारम्भिक आशंका गरिए पनि त्यसको पुष्टि भइसकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सीसीटीभी फुटेजलगायत प्रमाणको अध्ययनपछि आगलागीको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
घटनाका बेला बसमा यात्रु नरहेको प्रहरीले जनाएको छ। आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।












प्रतिक्रिया दिनुहोस्