काठमाडौं, असोज ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सबैभन्दा बढी प्रहार एमाले र आफूलाई भइरहेको दाबी गर्नुभएको छ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले राष्ट्रियताको विषयमा स्पष्ट अडान राखेकाले आफूहरूमाथि बढी प्रहार भइरहेको बताउनुभएको हो।
उहाँले एमालेमाथि झुटा लाञ्छना र आरोप लगाउने क्रम बढेको दाबी गर्नुभयो। अध्यक्ष ओलीले पार्टी अध्यक्ष र नेताको हैसियतले आफूलाई पनि सबैभन्दा बढी निशाना बनाइएको बताउनुभयो।
उहाँले सरकार बन्नासाथ एमाले अध्यक्षलाई बिना आरोप र पुष्टि नै नगरी प्रतिशोधपूर्ण ढंगले पक्राउ गर्ने प्रयास भएको दाबीसमेत गर्नुभयो।
अध्यक्ष ओलीले एमाले एकजुट भएर अघि बढ्नुपर्ने समयमा पार्टीभित्रै केही व्यक्तिले समस्या सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो। पार्टी कमिटीमा छलफल र बहस गर्न सकिने भए पनि मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने अभिव्यक्ति दिनु अनुशासनहीन काम भएको उहाँको भनाइ छ।
यस्ता गतिविधिले विपक्षीलाई फाइदा पुग्ने भन्दै अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो।












प्रतिक्रिया दिनुहोस्