जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १५:२८

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने


काठमाडौं, असोज ५ । सरकारले विद्युत्मा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले अघि सार्नुभएको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुहुनेछ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि विद्युत्मा लगाइएको भ्याट हट्नेछ।

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् सेवामा भ्याट लागू गरेको थियो। हाल घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था रहेको छ।

विद्युत्मा भ्याट लगाउने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले यसलाई हटाउने तयारी गरेको हो।